कञ्चनपुर । नेपालीहरूको महान् पर्व दीपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित र सुरक्षित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कडा निर्देशन जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै देउसीभैलो, नाचगानलगायत सांस्कृतिक गतिविधि बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ। तोकिएको समयभन्दा बाहिर सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले कानुनविपरीत जुवातास तथा लङ्गुरबुर्जा खेल्ने र खेलाउने कार्य नगर्न कडा चेतावनी दिएको छ। त्यस्तै, भुइँचम्पा, पटका तथा आतिसबाजीजस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको जनाएको छ।
चाडपर्वका नाममा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने तथा सर्वसाधारणको शान्ति सुरक्षामा असर पुर्याउने गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।
त्यसैगरी, अखाद्य रङ मिसाइएका तथा गुणस्तरहीन मिठाई बिक्री वितरण नगर्न, म्याद गुज्रिएका भाइ मसला बिक्री नगर्न र प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न निर्देशन दिइएको छ। कानुनले निषेध गरेका वस्तुको बिक्री वितरण तथा प्रयोगसमेत नगर्न प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा जारी सूचनामा निर्देशनविपरीतका गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट पारिएको छ।
प्रशासनले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित र सुसंस्कृत रूपमा मनाउँदै सामाजिक सद्भाव कायम राख्न जिल्लावासी तथा सम्बन्धित सबैमा अनुरोध गरेको छ।





















Discussion about this post