बेलडाँडी । बेलडाँडी गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणका कामले पछिल्लो समय गति लिएको छ। गाउँपालिकाभित्र सडक निर्माण, कालोपत्रे तथा स्तरोन्नति, स्वास्थ्य पूर्वाधार विस्तार र सार्वजनिक जग्गा संरक्षणलगायतका काम अघि बढिरहेका छन्।
केही दिनअघि मात्रै बेलडाँडी गौडी हुँदै वडा नं. ५, ४, ३ र २ भएर गाउँपालिका जोड्ने रिङरोड सडकखण्डको निर्माण कार्य अघि बढेको थियो। त्यसलगत्तै बेलडाँडी गाउँपालिका वडा नं. ४ स्थित ग्लोबल पिपल चौतारादेखि वडा नं. ३ को दुर्गा चौराहा, खैरिघाट चौराहा हुँदै बेलौरी नगरपालिका वडा नं. ९ जोड्ने सडकको कालोपत्रे तथा स्तरोन्नति कार्य पनि अघि बढेको छ।
उक्त सडक निर्माणका लागि जयमाता डागेश्वरी बिल्डर्स, भीमदत्त नगरपालिका-१३ ले ३६ लाख ६१ हजार ६०३ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। आगामी चैत ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको जनाइएको छ। सडक निर्माण सम्पन्न भएपछि बेलडाँडी र बेलौरीका नागरिकलाई आवागमनमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
विकासका लागि आफ्नै संरचना हटाउनेदेखि सार्वजनिक सडक खुलाउनेसम्म
बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना स्थानीय तहमा विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने मान्यता राख्दै आएका जनप्रतिनिधि हुन्। सार्वजनिक सडकको क्षेत्राधिकारमा परेको आफ्नै व्यावसायिक सटरसमेत हटाएर सडक विस्तारका लागि बाटो खोलिदिएको घटनाले उहाँको विकासप्रतिको प्रतिबद्धतालाई स्थानीयस्तरमा चर्चामा ल्याएको छ।
नक्साअनुसार सडकमा परेको आफ्नो व्यावसायिक संरचना हटाएर विकासका लागि उदाहरण प्रस्तुत गरेका रानाले सार्वजनिक सडक खुलाउने अभियानलाई अघि बढाएका थिए। तर, गाउँपालिकाभित्र अझै पनि केही जनप्रतिनिधिका संरचना सडकको क्षेत्राधिकारमा परेको विषय उठिरहेको छ। सार्वजनिक सडकको संरक्षण र अतिक्रमण हटाउने सवालमा सबै जनप्रतिनिधिले समान जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ।
विकास निर्माणका काममा नेतृत्वको इच्छाशक्ति महत्त्वपूर्ण हुने भए पनि सार्वजनिक सम्पत्तिको संरक्षण र सडकको क्षेत्राधिकार कायम गर्ने विषयमा सबैको समान प्रतिबद्धता आवश्यक हुन्छ।
स्वास्थ्य, विद्युत र अन्य पूर्वाधारमा पनि पहल
गाउँपालिका प्रमुख रानाको पहलमा बेलडाँडीमा विभिन्न भौतिक तथा सार्वजनिक पूर्वाधार निर्माणका काम अघि बढाइएको जनाइएको छ।
बेलडाँडीमा कोल्ड चिस्यान केन्द्र, दुग्ध चिस्यान केन्द्र, विद्युत सबस्टेसन, १५ शय्याको अस्पताल निर्माण, आँखा अस्पताल सञ्चालन, आपत्कालीन भवन निर्माण तथा अतिक्रमित जमिन खाली गराउनेजस्ता कामलाई गाउँपालिकाको विकास प्रयासका रूपमा लिइएको छ।
त्यस्तै, गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउने उद्देश्यले फजुल खर्च नियन्त्रण, अनावश्यक भ्रमण भत्ता (टीएडीए) कटौती तथा नास्ताका नाममा हुने खर्च नियन्त्रणजस्ता विषयमा समेत ध्यान दिइएको बताइएको छ।
स्थानीय तहमा विकास निर्माणका कामसँगै आर्थिक अनुशासन र सार्वजनिक स्रोतको सदुपयोगलाई प्राथमिकता दिन सकिए नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गर्न सकिन्छ।
विकासको गति निरन्तरता पाउनुपर्ने नागरिकको अपेक्षा
बेलडाँडीमा सडक निर्माण तथा स्तरोन्नतिका काम अघि बढ्नु स्थानीयवासीका लागि सकारात्मक पक्ष हो। गाउँपालिकाभित्रका सडक सञ्जाल विस्तार र स्तरोन्नतिले नागरिकको आवागमन सहज बनाउनुका साथै कृषि उपजको बजारीकरण, व्यापार व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर, विकास निर्माणका काम समयमै सम्पन्न हुनु, निर्माणको गुणस्तर कायम रहनु र सार्वजनिक सम्पत्तिको संरक्षण हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ।
स्थानीय सरकारले अघि सारेका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बेलडाँडीको भौतिक पूर्वाधार विकासले थप गति लिन सक्नेछ। सडक निर्माणदेखि स्वास्थ्य, विद्युत र सेवा प्रवाहसम्मका कामलाई निरन्तरता दिन सके विकासको अनुभूति नागरिकको घरदैलोसम्म पुग्ने अपेक्षा गरिएको छ।






















Discussion about this post