बेलडाँडी । बेलडाँडी गाउँपालिकादेखि दैजी जोड्ने हुलाकी सडकखण्डअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बढेको घाँस तथा झाडी सफाइका लागि बेलडाँडी गाउँपालिकाले आजदेखि पुनः १५ जना जनशक्ति परिचालन गरेको छ।
सडक किनारमा बाक्लिँदै गएको घाँस तथा झाडीका कारण जङ्गली जनावरको जोखिम बढ्दै गएपछि गाउँपालिकाले सफाइ अभियानलाई पुनः तीव्रता दिएको हो। गाउँपालिकाले झाडी सफाइका लागि मेसिन खरिद गरे पनि ठूला झाडी काट्न समस्या भएपछि पहिलो चरणमा जनशक्तिमार्फत सफाइ गर्ने तयारी गरिएको जनाएको छ।
गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाका अनुसार सडकको दायाँबायाँ बढेको घाँस काट्न आवश्यक मेसिन खरिद गरिसकिएको भए पनि मोटा तथा बाक्ला झाडी काट्न समस्या हुँदा सफाइ कार्यमा ढिलाइ भएको हो। केही दिनअघि नै सफाइ गर्ने तयारी भए पनि मेसिनले अपेक्षाअनुसार काम गर्न नसकेपछि पुनः जनशक्ति परिचालन गर्नुपरेको उहाँले बताउनुभयो।
गाउँपालिकाले पहिलो चरणमा सडक किनारको घाँस तथा झाडी हातैले जरैदेखि सफाइ गर्ने र त्यसपछि मेसिनको प्रयोग गरी नियमित रूपमा सफाइ कार्यलाई निरन्तरता दिने जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन क्षेत्रबाट जङ्गली जनावर सडकमा निस्कन सक्ने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर गाउँपालिकाले सफाइको तयारी थालेको थियो। सडकको दुवैतर्फ बाक्लो घाँस तथा झाडी हुँदा सडक आसपास रहेका जङ्गली जनावर समयमै देख्न कठिन हुने गरेको छ। विशेषगरी बिहान, साँझ तथा रातिको समयमा यात्रा गर्ने सवारी चालक र यात्रुका लागि यस्तो अवस्था जोखिमपूर्ण बन्ने गरेको छ।
झाडी सफाइपछि सडक आसपासको दृश्यता बढ्ने र जङ्गली जनावरका कारण हुन सक्ने सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले सफाइका लागि मेसिन खरिद गरेपछि स्थानीयवासीले यसलाई सकारात्मक पहलका रूपमा लिएका थिए। तर, उक्त मेसिनले ठूला झाडी काट्न नसकेपछि सफाइ कार्य प्रभावकारी हुनेमा केही चिन्ता देखिएको थियो। अब पहिलो चरणमा हातैले झाडी सफाइ गरेपछि मेसिनको प्रयोगबाट नियमित रूपमा सडक किनार सफा राख्न सहज हुने अपेक्षा गरिएको छ।
दैजी-बेलडाँडी सडकको समस्या घाँस तथा झाडीमा मात्रै सीमित छैन। कतिपय स्थानमा कालोपत्रेको सतह तथा लेभल नमिल्दा सवारीसाधन चलाउँदा भाइब्रेट हुने र यात्रुले सास्ती खेप्नुपर्ने अवस्था रहेको छ। त्यसैले झाडी सफाइसँगै सडकका जोखिमपूर्ण स्थान पहिचान गरी आवश्यक मर्मतसम्भार गर्नुपर्ने देखिन्छ।
सडक सफाइ कुनै एकपटकको अभियानमा मात्र सीमित नभई नियमित कार्यका रूपमा अघि बढाउन सके सडकको सुरक्षा र सुन्दरता दुवै कायम राख्न सकिनेछ। झाडी सफाइसँगै सडकको अवस्था सुधार र जङ्गली जनावरको जोखिम न्यूनीकरणमा समेत ध्यान दिन सके दैजी-बेलडाँडी सडकमा यात्रा गर्ने नागरिकले थप सुरक्षित र सहज यात्रा गर्न पाउने अपेक्षा गरिएको छ।






















Discussion about this post