बेलडाँडीमा रिङरोड कालोपत्रे अघि बढ्यो, सडकका लागि आफ्नै व्यावसायिक संरचना हटाउने अध्यक्ष रानाको त्याग चर्चामा

बेलडाँडी । विकासका कुरा गर्नु र विकासका लागि आफैँ त्याग गर्न तयार हुनु फरक विषय हुन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रिङरोड सडक कालोपत्रेको काम अघि बढेसँगै सडक निर्माणका लागि आफ्नै व्यावसायिक संरचना गत बर्ष नै हटाई सकेका गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको कदम पुनः चर्चामा आएको छ ।

बेलडाँडी गाउँपालिका-२ बाट वडा नं. ५, ४, ३ र १ हुँदै गाउँपालिकालाई जोड्ने रिङरोड सडकखण्ड कालोपत्रे गर्ने काम अघि बढेको हो । गाउँपालिका अध्यक्ष रानाको पहलमा अघि बढाइएको यस सडकलाई बेलडाँडीको यातायात सुविधा, बजार विस्तार र समग्र विकाससँग जोडेर हेरिएको छ ।

उक्त सडक निर्माणका लागि २ करोड ४८ लाख ४५ हजार ५७४ रुपैयाँ लागत अनुमान गरिएको थियो। न्यू जोशी कन्स्ट्रक्सन, भीमदत्त नगरपालिका-२, कञ्चनपुरले २ करोड २४ लाख २९ हजार ७४५ रुपैयाँमा ठेक्का पाएको छ । सम्झौताअनुसार आगामी जेठ ३० गतेभित्र बजेटले भ्याए सम्म काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण अघि बढाइएको छ ।

गत वर्ष खोलिएको उक्त सडकखण्डमा अतिक्रमण तथा सडकको नक्साभित्र परेका संरचना व्यवस्थापन गर्नुपर्ने अवस्था आएको थियो। सडकको नक्सा हेर्दा कतिपय घर तथा व्यावसायिक संरचना सडक क्षेत्रमा परेको पाइएपछि आवश्यक क्षेत्र खाली गराउने काम गरिएको थियो।

सडक निर्माणको विषयमा सबैभन्दा महत्त्वपूर्ण पक्ष पूर्वाधार निर्माण मात्र होइन, सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थ त्याग गर्न सक्ने नेतृत्व पनि हो। सडकको नक्सामा परेको आफ्नो व्यावसायिक सटर हटाएर बाटो निर्माणका लागि ठाउँ खाली गराएको अध्यक्ष रानाको कदमलाई यही सन्दर्भमा हेरिएको छ ।

वडा नं. २ र वडा नं. ३ का अध्यक्षले समेत सडकका लागि आफ्ना व्यावसायिक संरचना हटाएर पालिका प्रमुखलाई साथ दिएका थिए भने कसै जनप्रतिनिधीहरुले नक्साको सडक कब्जा गरेर तीन तिन तले घर सडककै नक्सामा ठड्याएका छन् । सार्वजनिक विकासका लागि जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्छ भन्ने प्रश्नलाई थप महत्त्व र स्पष्ट पारेको छ ।

तर, सडकको नक्साभित्र पर्ने संरचना हटाउने विषयमा सबै जनप्रतिनिधि र सरोकारवालाको व्यवहार समान छ कि छैन भन्ने प्रश्न पनि उठेको छ । स्थानीय तहमा सार्वजनिक सडकको संरक्षण गर्ने जिम्मेवारी बोकेका व्यक्तिहरूबाटै सडकको क्षेत्र अतिक्रमण भएको भए त्यसको निष्पक्ष छानबिन र कानुनअनुसार व्यवस्थापन आवश्यक हुन्छ ।

स्थानीय तहमा जनप्रतिनिधि हुनु भनेको सार्वजनिक स्रोत र सम्पत्तिको संरक्षक हुनु हो, व्यक्तिगत स्वार्थअनुसार सार्वजनिक जग्गा वा सडकको उपयोग गर्ने छुट पाउनु होइन। त्यसैले सडकको नक्सामा परेका सबै संरचनाको अवस्था समान मापदण्डका आधारमा जाँच गरिनुपर्छ । कसैको संरचना हट्ने र कसैको संरचना राजनीतिक पहुँच वा प्रभावका कारण यथावत् रहने अवस्था देखिए त्यसले सुशासन र कानुनी समानतामाथि प्रश्न उठाउँछ ।

बेलडाँडीको रिङरोड सडक कालोपत्रे हुनु स्थानीयवासीका लागि सकारात्मक उपलब्धि हो। तर यसको महत्त्व सडक कालोपत्रेमा मात्र सीमित छैन। सार्वजनिक हितका लागि आफ्नो निजी स्वार्थ त्याग गर्न सक्ने नेतृत्व र सार्वजनिक सडकको संरक्षणमा समान नियम लागू गर्ने प्रशासनिक इच्छाशक्ति पनि उत्तिकै महत्त्वपूर्ण छन्।

अध्यक्ष रानाले आफ्नो व्यावसायिक संरचना हटाएर सडक निर्माणका लागि ठाउँ उपलब्ध गराएको कदम विकासप्रतिको प्रतिबद्धताका रूपमा चर्चायोग्य छ । त्यस्तै, सडकको नक्साभित्र परेका अन्य संरचनाबारे पनि निष्पक्ष रूपमा तथ्य सार्वजनिक गरी आवश्यक कारबाही अघि बढाउनु स्थानीय सरकारको दायित्व हो ।

सार्वजनिक सडक कसैको निजी सम्पत्ति होइन, सबै नागरिकको साझा अधिकार हो। त्यसैले सडक निर्माणमा त्याग गर्ने नेतृत्वको प्रशंसा हुनुपर्छ भने सडकको क्षेत्र अतिक्रमण भएको आशंका देखिएका विषयमा प्रमाणका आधारमा प्रश्न उठाउन र कानुनसम्मत समाधान खोज्न पनि उत्तिकै आवश्यक छ ।

बेलडाँडीको रिङरोडले पूर्णता पाउँदा स्थानीयवासीको आवागमन सहज हुने, बजार तथा बस्तीबीचको सम्पर्क बलियो हुने र आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अब निर्माण कार्य तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न हुनुका साथै सार्वजनिक सडकको नक्सा र क्षेत्राधिकार संरक्षणमा समेत गाउँपालिकाले समान व्यवहार देखाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित