बेलडाँडीको इमलियामा निकुञ्जको क्यामेरामा पाटेबाघ कैद, बस्तीका नागरिक त्रासमा

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ स्थित इमलिया चमनचोक नजिक बस्तीको दिशातर्फ आउँदै गरेको पाटेबाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जडान गरेको क्यामेरामा कैद भएको छ। बस्ती आसपास वन्यजन्तुको आवतजावतको अवस्था निगरानी गर्न राखिएको क्यामेरामा पाटेबाघको दृश्य कैद भएपछि निकुञ्जले स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत बेलडाँडी रेञ्जर पोस्टका प्रमुख रेञ्जर निम चौधरीका अनुसार बस्तीको दिशातर्फ पाटेबाघ आउने गरेको दृश्य क्यामेरामा देखिएको हो। बाघको गतिविधि देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न निकुञ्जले हात्तीसमेत बोलाएको उहाँले जानकारी दिनुभयो। बाघलाई बस्तीबाट जंगलतर्फ धपाउने प्रयास गरिने जनाउँदै उहाँले उक्त क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई सचेत रहन विशेष आग्रह गर्नुभएको छ।

निकुञ्जको क्यामेरामा बाघ देखिनु सामान्य दृश्य मात्रै होइन, बस्ती आसपास बढ्दो वन्यजन्तुको गतिविधिले निम्त्याउन सक्ने जोखिमप्रतिको गम्भीर चेतावनी पनि हो। त्यसैले स्थानीय नागरिकले एक्लै किनारमा नहिँड्ने, बिहान-बेलुका विशेष सावधानी अपनाउने तथा बाघ देखिएमा नजिक जाने वा धपाउने प्रयास नगरी तत्काल सम्बन्धित निकायलाई खबर गर्न आवश्यक छ।

पछिल्लो समय बेलडाँडीसहित कञ्चनपुरका विभिन्न क्षेत्रमा जंगली जनावरको चहलपहल बढ्दै गएको छ। जंगली हात्ती, पाटेबाघलगायत वन्यजन्तु बस्तीमा पस्ने, किसानका बालीनाली नष्ट गर्ने र घरपालुवा जनावरमाथि आक्रमण गर्ने घटनाले स्थानीय नागरिकको जनजीवन प्रभावित हुँदै आएको छ।

विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको किनारमा बसोबास गर्ने नागरिकका लागि वन्यजन्तुको त्रास दिनचर्याकै हिस्सा बनेको छ। खेतमा लगाएको अन्नबाली जोगाउने चिन्ता एकातिर छ भने अर्कोतिर घरपालुवा जनावर र आफ्नै ज्यान कसरी सुरक्षित राख्ने भन्ने भय उत्तिकै छ। रातको समयमा वन्यजन्तु बस्तीमा पस्ने जोखिमले स्थानीयलाई ढुक्कसँग सुत्नसमेत कठिन बनाएको छ।

एकातिर वन्यजन्तुको जोखिम, अर्कोतिर दैनिक जीविकोपार्जनका लागि खेतबारी र घरगोठमा निस्कनैपर्ने बाध्यता। वन्यजन्तुको डरले आफ्नो खेतबारी जान, पशुचौपाया हेर्न र साँझबिहान आवतजावत गर्नसमेत त्रास मान्नुपर्ने अवस्था आउनु नागरिकका लागि गम्भीर समस्या हो।

यसैबीच, नागरिकसँग भेटघाटका लागि बेलडाँडी पुगेकी वन तथा वातावरणमन्त्री गीता चौधरीले बस्तीमा पसेर क्षति पुर्‍याउने हात्तीमा रेडियो कलर जडान गर्ने तयारी भइरहेको जानकारी दिनुभएको थियो।

रेडियो कलर जडान भएपछि हात्तीको अवस्थिति र गतिविधिबारे जानकारी लिन सहज हुने तथा त्यसका आधारमा सम्भावित जोखिम रहेका बस्तीका नागरिकलाई समयमै सतर्क गराउन सकिने मन्त्री चौधरीको भनाइ थियो। हात्तीको गतिविधि पहिल्यै थाहा पाएर आवश्यक सावधानी अपनाउन र सम्भव भएसम्म हात्तीलाई जंगलतर्फ फर्काउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, बस्तीमा पाटेबाघसमेत देखिन थालेपछि हात्ती नियन्त्रणका उपायसँगै बाघलगायत अन्य वन्यजन्तुको निगरानी र व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। क्यामेरा जडान, नियमित गस्ती, जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली र आपत्कालीन उद्धार तथा प्रतिकार्यको तयारीलाई थप सुदृढ बनाउनुपर्ने स्थानीयको अपेक्षा छ।

वन्यजन्तु संरक्षण राज्यको महत्त्वपूर्ण दायित्व हो। तर वन्यजन्तु संरक्षणसँगै निकुञ्ज आसपास बसोबास गर्ने नागरिकको जीवन, सम्पत्ति र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ। वन्यजन्तुले बालीनाली नष्ट गर्दा, घरपालुवा जनावर मार्दा वा बस्तीमा प्रवेश गर्दा नागरिकले भोग्नुपर्ने क्षति र मानसिक त्रासलाई सामान्य समस्याका रूपमा लिन मिल्दैन।

सम्बन्धित निकायले वन्यजन्तुको गतिविधि निगरानीमा मात्र सीमित नभई जोखिमयुक्त बस्तीको पहिचान, समयमै सूचना प्रवाह, नियमित गस्ती, आवश्यक उद्धार टोलीको तयारी र क्षतिपूर्तिको प्रभावकारी व्यवस्थामा समेत ध्यान दिनुपर्ने देखिन्छ। साथै, वन्यजन्तुबाट हुने सम्भावित मानवीय क्षति रोक्न स्थानीय सरकार, निकुञ्ज प्रशासन, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक छ।

इमलिया चमनचोक नजिक क्यामेरामा पाटेबाघ देखिएको घटनाले बेलडाँडीका नागरिकको सुरक्षा चुनौतीलाई फेरि सतहमा ल्याएको छ। अब प्रश्न वन्यजन्तु कहाँ देखियो भन्नेमा मात्र सीमित छैन, बस्तीमा वन्यजन्तुको जोखिम बढ्दै जाँदा नागरिकको ज्यान जोगाउन राज्यले कति प्रभावकारी पूर्वतयारी गरेको छ भन्ने पनि हो।

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्दै दुवैको सुरक्षा सुनिश्चित गर्नु आजको आवश्यकता हो। नागरिकले हरेक दिन त्रासमा बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित