बेलडाँडी । कञ्चनपुरको बेलडाँडीमा सञ्चालन भएको दोस्रो संस्करणको क्षेत्र नं. १ स्तरीय नकआउट फुटबल प्रतियोगिता ‘बेलडाँडी फुटबल महोत्सव-२०८३’ को उपाधि आयोजक बेलडाँडी फुटबल एकेडेमीले जितेको छ।
कार्तिक ३ गते सम्पन्न फाइनल खेलमा बेलडाँडी फुटबल एकेडेमीले शिवशक्ति युवा क्लब, बेलडाँडीलाई १ का विरुद्ध ५ गोलले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै विजेता बेलडाँडी फुटबल एकेडेमीले नगद ८५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता शिवशक्ति युवा क्लबले नगद ४५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
बेलडाँडी फुटबल एकेडेमी, बेलडाँडी-१ को आयोजनामा असोज २५ गतेदेखि सुरु भएको प्रतियोगितामा क्षेत्र नं. १ का विभिन्न टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय तथा क्षेत्रीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै फुटबल खेलको विकास र खेलकुदप्रतिको आकर्षण बढाउन योगदान पुर्याएको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदका गतिविधिलाई प्रोत्साहन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक गतिविधिमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको विकासका लागि आवश्यक सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उदयमान खेलाडीलाई समेत पुरस्कृत गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
समापन कार्यक्रमको सभापतित्व बेलडाँडी फुटबल एकेडेमीका अध्यक्ष केशवबहादुर विष्टले गरेका थिए भने सञ्चालन युवा समाजसेवी गोर्कण जोशी ‘निश्चल’ले गरेका थिए।
बडादसैँ तथा शुभ दीपावलीको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले बेलडाँडीमा खेलकुदको वातावरण निर्माण गर्नुका साथै आपसी सद्भाव, भाइचारा र स्थानीय खेल प्रतिभाको प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।




















Discussion about this post