दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्यटन प्रवर्द्धन, स्थानीय कला-संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘अपिहिमाल पर्यटन उत्सव, २०८३’ आयोजना हुने भएको छ। “सुन्दर, समृद्ध र विकसित अपिहिमाल” भन्ने नारासहित उत्सव आगामी कार्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको हो।
अपिहिमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खण्डेश्वरी, दार्चुलाको आयोजनामा सञ्चालन हुने तीनदिने उत्सवमा उद्घाटन समारोह, झाँकी प्रदर्शन, साहित्यिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता, योग तथा ध्यान शिविर र जलवायु संवादलगायतका कार्यक्रम समावेश गरिएका छन्।
आयोजकका अनुसार उत्सवको पहिलो दिन कार्तिक १७ गते उद्घाटन समारोहसँगै स्थानीय मौलिकता झल्काउने झाँकी प्रदर्शन तथा साहित्यिक कार्यक्रम सञ्चालन गरिनेछ। दोस्रो दिन कार्तिक १८ गते विभिन्न कलाकारका सांस्कृतिक प्रस्तुति, उच्च हिमाली क्षेत्रमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा भलिबल खेल आयोजना हुनेछन्।
त्यस्तै, उत्सवको अन्तिम दिन कार्तिक १९ गते योग तथा ध्यान शिविर, जलवायु परिवर्तनसम्बन्धी संवाद र समापन कार्यक्रम सञ्चालन गरिने कार्यक्रम तालिकामा उल्लेख छ।
उत्सवमा स्थानीय अनुकूलन जलवायु परिवर्तन (LACC) परियोजना, नेपाल पर्यटन बोर्ड (NTB) तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) अन्तर्गतको दिगो पर्यटन परियोजनालगायतका संस्थाहरू साझेदारका रूपमा रहेका छन्।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण अपिहिमाल क्षेत्र हिमाली पर्यटन, साहसिक यात्रा तथा मौलिक कला-संस्कृतिको दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो। पर्यटन उत्सवले यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनुका साथै स्थानीय पर्यटन व्यवसायको विकास, रोजगारीका अवसर सिर्जना र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्यटनसँगै वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीबारे संवादलाई समेत प्राथमिकता दिइएको उत्सवले अपिहिमालको पर्यटन विकासलाई दिगो, व्यवस्थित र वातावरणमैत्री बनाउने सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।




















Discussion about this post