ग्रामीण भेगबाट महेन्द्रनगरको मैदानसम्म सरस्वती माविको दमदार यात्रा, यू-१६ फुटबलको फाइनलमा बेलडाँडी

बेलडाँडी । ग्रामीण भेगमा रहेर पनि प्रतिभा, मेहनत र खेल कौशलका माध्यमबाट आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ झरनासागरस्थित सरस्वती माध्यमिक विद्यालयको टोली तेस्रो बासुदेव स्मृति अन्तरविद्यालयस्तरीय यू-१६ सेभेन ए-साइड फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको छ।

महेन्द्रनगरस्थित खुलामञ्चमा जारी प्रतियोगिताको शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा सरस्वती माविले बैजनाथ माध्यमिक विद्यालय, महेन्द्रनगरलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। सहरी क्षेत्रका विद्यालयसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेको सरस्वतीको यो जित बेलडाँडी क्षेत्रका खेलप्रेमी, विद्यार्थी र विद्यालय परिवारका लागि गौरवको विषय बनेको छ।

सीमित अवसर र ग्रामीण परिवेशका बीच मैदानमा उत्रिएको सरस्वती माविको टोलीले आफ्नो खेल कौशल, अनुशासन र सामूहिक प्रयासमार्फत आफूलाई अब्बल साबित गरेको छ। प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गर्नु टोलीका लागि सहज चुनौती थिएन। तर, बलियो आत्मविश्वास र उत्कृष्ट खेल प्रदर्शनका साथ अघि बढेको टोलीले अब उपाधिका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा ओम पुष्पा अञ्जली इंग्लिस बोर्डिङ स्कुल, दोधारा चाँदनीले कञ्चन विद्या मन्दिरलाई २-० गोलले पराजित गर्दै फाइनलमा सरस्वती माविसँगको भेट पक्का गरेको छ।

अब आइतबार दिउँसो ३ बजे महेन्द्रनगरस्थित खुलामञ्चमा सरस्वती मावि र ओम पुष्पा अञ्जली बोर्डिङ स्कुलबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। उक्त खेलमा सरस्वती माविले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उपाधि जित्ने लक्ष्य राखेको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

बेलडाँडीको ग्रामीण क्षेत्रबाट महेन्द्रनगरको प्रतिस्पर्धात्मक मैदानमा पुगेर फाइनलसम्मको यात्रा तय गर्नु सरस्वती माविका खेलाडीको मेहनत र सम्भावनाको प्रमाण हो। यो उपलब्धि एउटा विद्यालयको सफलतामा मात्र सीमित छैन, ग्रामीण क्षेत्रमा पनि प्रतिभावान् खेलाडीको कमी छैन भन्ने सन्देशसमेत हो।

सरस्वती माविका खेलाडीले आइतबारको निर्णायक खेलमा कस्तो प्रदर्शन गर्नेछन् भन्ने प्रतीक्षा खेलप्रेमीमा छ। उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि उचाल्न सके सरस्वती माविका लागि त्यो ऐतिहासिक सफलता बन्नेछ भने बेलडाँडी क्षेत्रको खेलकुद विकास र स्थानीय प्रतिभाको पहिचानमा समेत थप ऊर्जा मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित