बेलडाँडी फुटबल महोत्सव भोलिदेखि सुरु हुँदै, २२ टोलीको सहभागिता

बेलडाँडी । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ तथा शुभ दीपावलीको अवसरमा कञ्चनपुरको बेलडाँडीमा दोस्रो संस्करणको क्षेत्र नं. १ स्तरीय नकआउट फुटबल प्रतियोगिता ‘बेलडाँडी फुटबल महोत्सव-२०८३’ भोलिदेखि सुरु हुने भएको छ।

बेलडाँडी फुटबल एकेडेमी, बेलडाँडी-१ को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा २२ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन भोलि दिउँसो २ बजे बेलडाँडी गाउँपालिका-२ स्थित रौलेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा गरिने एकेडेमीका अध्यक्ष केशवबहादुर विष्टले जानकारी दिए।

दसैँ-तिहारको अवसरमा आयोजना हुँदै आएको यस प्रतियोगिताले बेलडाँडीमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन योगदान पुर्‍याउँदै आएको छ। प्रतियोगितामार्फत स्थानीय तथा क्षेत्रीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्ने आयोजकको अपेक्षा छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ८५ हजार ५५५ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद ४५ हजार ५५५ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। प्रत्येक टोलीमा १६ जना खेलाडीसहित एक जना प्रशिक्षक र एक जना व्यवस्थापक रहने व्यवस्था गरिएको छ। खेलाडीहरू अनिवार्य रूपमा क्षेत्र नं. १ भित्रका हुनुपर्नेछ भने प्रत्येक टोलीले १६ जनामध्ये बढीमा चार जना क्षेत्रबाहिरका खेलाडी समावेश गर्न पाउनेछन्।

खेल फिफाको नियमअनुसार सञ्चालन गरिनेछ। खेलाडीले अनिवार्य रूपमा जर्सी, जुत्ता र प्याड लगाउनुपर्ने आयोजकले जनाएको छ। खेलका क्रममा चोटपटक लागेमा प्राथमिक उपचारबाहेकको जिम्मेवारी सम्बन्धित खेलाडी तथा क्लब स्वयंले लिनुपर्ने व्यवस्था गरिएको छ।

खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजक र रेफ्रीको निर्णय अन्तिम हुने जनाइएको छ। साथै, खेल तालिकामा तोकिएको समयभन्दा ३० मिनेटभन्दा बढी कुर्नुपर्ने अवस्था आएमा आयोजकले आवश्यक निर्णय तथा कारबाही गर्न सक्ने जनाएको छ।

बडादसैँको उल्लाससँगै सञ्चालन हुन लागेको यस प्रतियोगिताले बेलडाँडीलाई फुटबलमय बनाउनुका साथै खेलकुदमार्फत आपसी सद्भाव, भाइचारा र स्थानीय प्रतिभाको प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित