बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका-१०, शिवनगरमा धार्मिक, सांस्कृतिक तथा सामाजिक जागरण अभिवृद्धि गर्ने उद्देश्यले पहिलोपटक रामलीला नाटक मञ्चन हुने भएको छ। श्री सिद्धेश्वर रामलीला समितिको आयोजनामा यही कार्तिक ९ गतेदेखि सिद्धेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा रामलीला मञ्चन गर्न लागिएको हो।
रामलीला मञ्चनबारे जानकारी दिन समितिले शुक्रबार कार्यक्रमस्थलमै आयोजना गरेको पत्रकार सम्मेलनमा तयारी पूरा भएको जानकारी दिइएको छ। समितिका अनुसार भगवान् श्रीरामचन्द्रको जीवन, आदर्श, त्याग, मर्यादा र सत्यको मार्गमा आधारित रामलीलामार्फत समाजमा नैतिकता, सदाचार र सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखिएको छ।
समितिका संयोजक राजेन्द्रबहादुर सिंहले रामलीला केवल धार्मिक नाटक मात्र नभई समाजलाई सही मार्गमा अघि बढ्न प्रेरित गर्ने सांस्कृतिक अभियानसमेत भएको बताए। उनका अनुसार समाजमा विद्यमान विकृति र विसङ्गति न्यूनीकरण गर्दै सत्य, न्याय, अनुशासन, कर्तव्य र मानवीय मूल्य स्थापित गर्न रामलीला मञ्चनले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।
बेलौरी नगरपालिकाका सबै वडा कार्यालय, बेलडाँडी गाउँपालिका, पुनर्वास नगरपालिका लगायतका निकायको आर्थिक सहयोग तथा स्थानीयवासीको आर्थिक र भौतिक सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको संयोजक सिंहले जानकारी दिए। उनका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री खगराज भट्टबाट गराउने तयारी भइरहेको पनि सिंहले बताए। उनले रामलीलालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न स्थानीय सरकार, सामाजिक सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, धार्मिक व्यक्तित्व तथा सम्पूर्ण स्थानीयवासीलाई सहयोग र सहभागिताका लागि आग्रह गरे।
समितिका सङ्गीत निर्देशक सत्यराज जोशीले लामो समयदेखिको तयारीपछि रामलीला मञ्चन गर्न लागिएको बताए। यसअघि पनि रामलीला सञ्चालन गर्ने उद्देश्यले कलाकारलाई तालिम दिइएको भए पनि कोरोना महामारीका कारण कार्यक्रम अघि बढाउन नसकिएको उनले जानकारी दिए।
यसपटक स्थानीय कलाकारहरूलाई नै सहभागी गराएर रामलीलाको तयारी गरिएको उल्लेख गर्दै जोशीले भगवान् श्रीरामको चरित्र र जीवन आदर्शले बालबालिका, युवा तथा समग्र समाजलाई सत्मार्गमा हिँड्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार रामलीलामार्फत असल आचरण, ठूलाप्रतिको सम्मान, पारिवारिक सद्भाव, सामाजिक एकता, त्याग, सेवा र कर्तव्यबोधजस्ता मानवीय गुणलाई व्यवहारमा उतार्न प्रेरणा मिल्नेछ। मनोरञ्जनसँगै नैतिक शिक्षा प्रदान गर्ने माध्यमका रूपमा रामलीलाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ।
भगवान् श्रीरामचन्द्रको जीवनमा आधारित रामलीला विभिन्न स्थानमा मञ्चन गर्दै आएका डा. भूपेन्द्र विष्टले रामलीला धार्मिक आस्था, सांस्कृतिक परम्परा र जीवनोपयोगी शिक्षाको महत्त्वपूर्ण माध्यम भएको बताए।
उनका अनुसार भगवान् श्रीरामको जीवनले सत्य, न्याय, त्याग, मर्यादा, जिम्मेवारी र कर्तव्यपालनको सन्देश दिन्छ। रामलीलामा प्रस्तुत गरिने पात्र र घटनाबाट मानिसले असल र खराब आचरणबीचको भिन्नता बुझ्न तथा जीवनमा सकारात्मक मूल्य अवलम्बन गर्न प्रेरणा लिन सक्छन्।
डा. विष्टले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्नु नयाँ पुस्ताको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्न सहयोग पुग्ने बताए। उनका अनुसार रामलीलालाई केवल धार्मिक अनुष्ठानका रूपमा नभई सामाजिक शिक्षा, सांस्कृतिक पहिचान र सामुदायिक एकता बलियो बनाउने अवसरका रूपमा समेत लिन आवश्यक छ।
रामलीला मञ्चनले स्थानीय समुदायमा धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै बालबालिका र युवालाई नैतिक शिक्षासँग जोड्ने अपेक्षा गरिएको छ। रामायणमा आधारित पात्र र घटनाले सत्यको पक्षमा उभिन, अन्यायको विरोध गर्न, पारिवारिक तथा सामाजिक जिम्मेवारी निर्वाह गर्न र आपसी सद्भाव कायम राख्न प्रेरित गर्ने विश्वास आयोजकको छ।
यस कार्यक्रमले स्थानीय कलाकारको प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने अवसरसमेत प्रदान गर्नेछ। त्यस्तै, विभिन्न उमेर र समुदायका मानिसलाई एउटै सांस्कृतिक मञ्चमा जोडेर सामाजिक एकता, सहकार्य र आपसी भाइचाराको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन समितिका महासचिव दीपेन्द्रबहादुर शाह, गोपाल गुरुङ, मन्दिर समितिका अध्यक्ष, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको महत्त्वपूर्ण भूमिका रहेको जनाइएको छ।



















Discussion about this post