प्रधानमन्त्रीलाई नेत्र जोशीको आग्रह : ‘कुर्सी होइन, देश बदल्ने साहस देखाउनुस्’

कञ्चनपुर । राजनीतिक विचार तथा विशेष टिप्पणीमार्फत नेत्र जोशीले प्रधानमन्त्रीलाई सत्ता जोगाउनेभन्दा देश र जनताको अवस्था बदल्ने साहस देखाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री बन्नु केवल पद प्राप्त गर्नु नभई करोडौँ नेपाली जनताको आशा, विश्वास र भविष्यको जिम्मेवारी लिनु भएको उल्लेख गर्दै जोशीले सरकारको मूल्याङ्कन पदमा बसेको समयका आधारमा नभई देश र जनताका लागि गरेको कामका आधारमा हुनुपर्ने बताएका छन्।

‘देशको प्रधानमन्त्री बन्नु केवल एउटा पद प्राप्त गर्नु होइन, यो करोडौँ नेपाली जनताको आशा, विश्वास र भविष्यको जिम्मेवारी आफ्नो काँधमा लिनु हो,’ जोशीले आफ्नो राजनीतिक टिप्पणीमा उल्लेख गरेका छन्, ‘देशलाई अहिले भाषणको होइन, परिणामको आवश्यकता छ। जनतालाई नयाँ आश्वासन होइन, पुराना समस्याको ठोस समाधान चाहिएको छ।’

प्रधानमन्त्री परिवर्तन हुँदैमा जनताको अवस्था परिवर्तन नहुने भन्दै उनले सरकारको सोच, कार्यशैली र निर्णयमा वास्तविक परिवर्तन देखिनुपर्नेमा जोड दिएका छन्।

जोशीले भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। भ्रष्टाचारमा संलग्न व्यक्ति जुनसुकै पार्टी वा शक्तिसँग सम्बन्धित भए पनि निष्पक्ष अनुसन्धान गरी दोषी प्रमाणित भएकालाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ। अवैध रूपमा आर्जित सम्पत्ति कानुनी प्रक्रियाबाट जफत गर्नुपर्ने र कारबाहीमा आफ्नो-पराइ, नातागोता, पार्टी तथा गुटको आधारमा भेदभाव गर्न नहुने उनले उल्लेख गरेका छन्।

कानुन कमजोरमाथि मात्र लागू हुने र शक्तिशालीका अगाडि निरीह बन्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै जोशीले सुशासनको अनुभूति कानुन सबैका लागि समान हुँदा मात्रै सम्भव हुने धारणा राखेका छन्।

युवालाई स्वदेशमै भविष्य देखाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले रोजगारी सिर्जना गर्ने नीति व्यवहारमा लागू गर्न सरकारलाई आग्रह गरेका छन्। उद्योग, कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने, सीप भएका युवालाई अवसर दिनुपर्ने र उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहुलियत उपलब्ध गराउनुपर्ने उनको सुझाव छ।

‘हजारौँ नेपाली युवा रोजगारीको खोजीमा आफ्नो घरपरिवार छोडेर विदेशिन बाध्य छन्। उनीहरू रहरले मात्र विदेशिएका होइनन्, स्वदेशमा पर्याप्त अवसर नपाउँदाको बाध्यताले पनि विदेशिएका हुन्,’ जोशीले टिप्पणीमा भनेका छन्।

प्रधानमन्त्रीले निर्णय प्रक्रियामा साहस देखाउनुपर्ने भए पनि संविधान र कानुनको सीमालाई बिर्सन नहुने उनको भनाइ छ। जिम्मेवारी दिने वा हटाउने निर्णय व्यक्तिगत रिस, राजनीतिक प्रतिशोध तथा गुटगत स्वार्थबाट नभई योग्यता, कार्यक्षमता र सार्वजनिक हितका आधारमा हुनुपर्ने उनले बताएका छन्।

त्यस्तै, शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउने, किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, न्यायका लागि वर्षौँसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्ने तथा गाउँदेखि सहरसम्म विकासको अनुभूति गराउने विषयलाई पनि जोशीले सरकारको प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

आगामी पाँच वर्षपछि नेपाली युवाले बाध्यताले विदेशिनुपर्ने अवस्था नआओस्, आफ्नै देशमा श्रम गरेर सम्मानपूर्वक बाँच्न सक्ने वातावरण बनोस् र बाबुआमाले सन्तान विदेश पठाउँदा आँसु झार्नुपर्ने बाध्यता अन्त्य होस् भन्ने अपेक्षा उनले व्यक्त गरेका छन्।

‘इतिहासमा नाम लेखाउने अवसर पदले होइन, जनताका जीवनमा ल्याएको परिवर्तनले दिन्छ। त्यसैले कुर्सी जोगाउने चिन्ता होइन, देश जोगाउने चिन्ता गर्नुस्। सत्ता टिकाउने रणनीति होइन, जनताको विश्वास जित्ने काम गर्नुस्,’ जोशीले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

भ्रष्टाचारमुक्त शासन, निष्पक्ष न्याय, स्वदेशमै रोजगारी, सुशासन र समृद्ध नेपाल आफ्नो प्रमुख अपेक्षा रहेको उल्लेख गर्दै जोशीले प्रधानमन्त्रीलाई देश बदल्ने साहस देखाउन आग्रह गरेका छन्।

उनको टिप्पणीमा जनताले अब भाषण र आश्वासनभन्दा पनि ठोस परिणाम तथा आफ्नो जीवनमा अनुभूत हुने परिवर्तन खोजिरहेको सन्देश दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित