सत्ता स्थायी नभएको भन्दै जोशीले जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी घर भएका नेत्र जोशीले सत्तामा पुगेपछि आफूलाई सर्वशक्तिमान् ठान्ने र जनताको आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति त्याग्न सत्ताधारीहरूलाई कडा खबरदारी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जोशीले सत्ता जनताको सेवाका लागि भएको उल्लेख गर्दै जनतामाथि शासन गरेर अहंकार प्रदर्शन गर्ने माध्यम बनाउन नहुने बताएका छन्।
उनले कुर्सीको आडमा जनताको आवाज दबाउने, प्रश्न गर्नेलाई विरोधी ठान्ने र आलोचनालाई दुस्मनी सम्झिने सोच लोकतान्त्रिक व्यवस्थाका लागि उचित नभएको बताएका छन्।
“लोकतन्त्रमा शासकभन्दा माथि जनता हुन्छन्, सरकारभन्दा माथि संविधान हुन्छ र सत्ताभन्दा माथि जनताको अधिकार हुन्छ,” जोशीले लेखेका छन्।
जोशीले आफूहरू कसैको व्यक्तिगत दुश्मन नभएको स्पष्ट पार्दै गलत निर्णय, अन्याय, बेथिति र सत्ताको दुरुपयोगविरुद्ध बोल्न कहिल्यै पछि नहट्ने बताएका छन्।
सत्तामा रहेकाहरूले जनताका प्रश्नको जवाफ दिन, आलोचना सहन र आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ।
“जनताको धैर्यलाई कमजोरी नठान्नुस्। इतिहासमा कुर्सीमा बस्नेहरू धेरै आए, धेरै गए; तर जनताको आवाज कहिल्यै हराएको छैन,” उनले उल्लेख गरेका छन्।
उनले आफ्नो चेतावनी कुनै व्यक्तिविशेषप्रति लक्षित नभई जनताको आवाजभन्दा माथि आफूलाई ठान्ने हरेक सत्ताधारी प्रवृत्तिप्रति रहेको स्पष्ट पारेका छन्। “सत्ता स्थायी होइन, जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो,” जोशीले लेखेका छन्।





















Discussion about this post