बेलडाँडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलडाँडी गाउँ समितिले शुभ दीपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित ऐतिहासिक कालिकिच तालको किनारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। ताल संरक्षण र प्रवद्र्धनमा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले तालकै छेउमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनक सिंह धामीले कालिकिच तालको संरक्षण र प्रवद्र्धनको सन्देश दिन कार्यक्रम ताल किनारमा आयोजना गरिएको बताउनुभयो।
सांसद धामीले जनताले अब भाषणभन्दा विकास खोजिरहेको उल्लेख गर्दै समाज सुधार र जनताको हितका लागि अहोरात्र खटिने रास्वपा बेलडाँडी गाउँ समिति सभापति तेज सिंह धामीको पहलको प्रशंसा गर्नुभयो। उहाँले कालिकिच तालको संरक्षणमा सभापति तेज सिंह धामीले संकेत गर्दै योगदान पु¥याउने सोचलाई सम्मान गर्दै संरक्षणका लागि आफूले साथ दिने बताउनुभयो।
कार्यक्रमका सभापति तथा रास्वपा बेलडाँडी गाउँ समिति सभापति तेज सिंह धामीले संरक्षण र सम्बद्र्धनको अभावमा ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको कालिकिच ताल घाँसे मैदानमा परिणत हुँदै गएको बताउनुभयो। तालको संरक्षणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रम तालकै किनारमा आयोजना गरिएको उहाँको भनाइ छ।
बेलडाँडी गाउँपालिका–२ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको कालिकिच ताल प्राचीनकालदेखि अस्तित्वमा रहेको ऐतिहासिक प्राकृतिक सम्पदा हो। स्थानीयका अनुसार प्राचीनकालमा सिंहपाल राजाको शासनकालदेखि नै ताल अस्तित्वमा रहेको मानिन्छ। तर, संरक्षण, सरसफाइ र उचित व्यवस्थापनको अभावमा तालको अस्तित्व संकटमा पर्दै गएको छ।
तालको चारैतिर घाँस फैलिनु, पानीको उचित निकास नहुनु तथा नियमित सरसफाइको अभावले ताल पुरिँदै गएको स्थानीयको गुनासो छ। विगतमा गाउँपालिकाले पटक-पटक सम्बन्धित माथिल्लो निकायको ध्यानाकर्षण गराए पनि अपेक्षित संरक्षण हुन नसकेको बताइएको छ।
झण्डै पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कालिकिच ताल जैविक विविधताले भरिपूर्ण छ। तालमा विभिन्न स्थानीय माछाका प्रजाति, गोही, अजिंगरलगायत जलचर प्राणी तथा हाँस, चखेवा र हिउँदमा पाइने सारसजस्ता चराहरूको बासस्थान रहेको छ। संरक्षित चरामध्ये एक जोडी सारससमेत पाइने यस तालको प्राकृतिक महत्व अझ विशेष रहेको स्थानीय बताउँछन्।
ताल विभिन्न वन्यजन्तुका लागि पानीको स्रोत र जलचर प्राणीका लागि उपयुक्त बासस्थानसमेत हो। तर, संरक्षण र सरसफाइको अभावमा जैविक विविधता संकटमा पर्दै गएको छ। जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन तथा अध्ययन अनुसन्धानका दृष्टिले महत्वपूर्ण रहेको तालको संरक्षण गर्न स्थानीयले माग गर्दै आएका छन्।
तालको संरक्षण, उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सके यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ। ताल संरक्षणमा सरकारी निकायको सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ छ।
शुभकामना आदानप्रदान कार्यक्रममा रास्वपा कञ्चनपुर जिल्ला सभापति पदम बिष्ट, क्षेत्र नं. १ का सभापति बिरु शाही, बेलौरी नगर सभापति, लालझाडी गाउँ सभापति, पुनर्वास नगर सभापतिसहित विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ७० जनाभन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेको आयोजकले जनाएको छ। जनतामा रास्वपाप्रतिको आशा र विश्वास कायम रहेको भन्दै पार्टीमा प्रवेश गर्नेको आकर्षण बढ्दै गएको आयोजकको दाबी छ।
कालिकिच ताल संरक्षणको मुद्दालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमले ऐतिहासिक प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।





















Discussion about this post