बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ स्थित झिलमिला फाँटा खेलमैदानमा आयोजित स्व. शंकरराज चिमाडी मेमोरियल क्रिकेट कप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। शुभदीपावलीको अवसर पारेर बैवाह युनाइटेड क्लबको आयोजनामा कार्तिक २३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि आयोजक बैवाह युनाइटेड क्लबले जितेको छ।
प्रतियोगितामा सहभागी १२ टोलीलाई पछि पार्दै आयोजक बैवाह युनाइटेड क्लबले उपाधि उचाल्न सफल भएको हो। शनिबार सम्पन्न फाइनल खेलमा सिद्धार्थ युवा क्लब पुरानो बेलौरीले पहिले ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा ६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा बैवाह युनाइटेड क्लबले ११.१ ओभरमै लक्ष्य पूरा गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नं. १ का सांसद जनक सिंह धामी रहेका थिए। समारोहलाई सम्बोधन गर्दै सांसद धामीले खेलकुद क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीको खेलभावना र प्रदर्शनको प्रशंसा गर्दै विजेता, उपविजेता तथा सहभागी सबै टोलीलाई बधाई ज्ञापन गरे।
प्रतियोगितामा विजेता बैवाह युनाइटेड क्लबले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सिद्धार्थ युवा क्लब पुरानो बेलौरीले नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज प्रदान गरिएको थियो। उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत ट्रफी प्रदान गरी सम्मान गरिएको आयोजक समितिका जनक खातीले जानकारी गराउनु भयो ।
समापन समारोहमा बेलडाँडी गाउँपालिका-५ का वडाध्यक्ष इन्द्रबहादुर खड्का, जनप्रतिनिधि, बीओपी झिलमिलाका प्रमुख मानबहादुर चौधरी, प्रहरी चौकी झिलमिलाका प्रमुख, स्थानीय भद्रभलादमी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्वर्गीय शंकरराज चिमाडीको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको प्रवर्द्धन, नयाँ प्रतिभाको पहिचान र युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्वर्गीय चिमाडी गणेश माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए। शिक्षण पेसासँगै खेलकुदप्रति विशेष रुचि राख्ने उनी खेल रेफ्रीका रूपमा समेत सक्रिय थिए। शिक्षण कार्यमै संलग्न रहेका बेला उनको आकस्मिक निधन भएको थियो।
उनको खेलकुदप्रतिको योगदान र स्मृतिलाई जीवन्त राख्दै स्थानीय क्रिकेटको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताए।
प्रतियोगिताले स्वर्गीय चिमाडीको योगदानको स्मरण गर्नुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै स्थानीयस्तरमा क्रिकेटको वातावरण निर्माण गर्न प्रतियोगिता सफल भएको आयोजकले जनाएको छ।


















Discussion about this post