हुलाक सेवालाई आधुनिक र जनमुखी बनाउँदै लैजानुपर्नेमा जोड

कञ्चनपुर । हुलाक सेवालाई समयानुकूल आधुनिकीकरण गर्दै छिटो, भरपर्दो र जनमुखी बनाउनुपर्नेमा कञ्चनपुरका सरोकारवालाले जोड दिएका छन्।

बिहीबार महेन्द्रनगरमा हुलाक सेवा विभागले आयोजना गरेको द्रुत डाँक सेवा (EMS) सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित नभई हुलाक सेवालाई आधुनिक ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्नुपर्ने बताएका हुन्।

सरकारले शासकीय सुधारका लागि सय दिनमा सय काम गर्ने योजनाअन्तर्गत सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गर्ने नीति अघि सारेको छ। सोहीअनुसार राहदानी, नागरिकता, प्रतिलिपि, लाइसेन्सलगायत सरकारी कागजात घरमै पुर्‍याउने सेवाको विस्तारमा हुलाकलाई प्रयोग गर्ने सरकारको लक्ष्य छ।

कञ्चनपुर हुलाक कार्यालयका प्रमुख सरोज पाण्डेयले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा राहदानी घरमै पुर्‍याउने सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए। “जिल्ला प्रशासन कार्यालयसँग सम्झौता गरेर राहदानी घरमै पुर्‍याउन सफल भएका छौँ,” उनले भने, “अब अन्य सरकारी सेवासमेत हुलाकमार्फत नागरिकको घरदैलोसम्म पुर्‍याउने तयारीमा छौँ।”

उनका अनुसार हुलाक सेवा चिठीपत्रमा मात्र सीमित छैन। स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म २० किलोसम्मका भौतिक सामग्रीसमेत हुलाकमार्फत पठाउने व्यवस्था रहेको उनले बताए। सीमित स्रोतसाधन र उच्च प्रविधियुक्त जनशक्तिको अभावका बाबजुद सेवा विस्तारमा कार्यालयले काम गरिरहेको पाण्डेयको भनाइ छ।

हुलाक सेवा विभागका शाखा अधिकृत शितलसिंह उखेराले देशभर द्रुत डाँक सेवा (ईएमएस) लाई प्रभावकारी बनाउने काम भइरहेको बताए। पछिल्ला वर्षमा व्यक्तिगत चिठीपत्रको प्रयोग घट्दै गए पनि सरकारी प्रयोजनका रजिष्ट्रेशन पत्र तथा अन्य भौतिक सामग्री पठाउने सेवाको माग बढिरहेको उनले बताए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले हुलाक सेवालाई थप स्वायत्त, विश्वसनीय र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। त्यसैगरी सुदूरपश्चिम हुलाक निर्देशनालयका निर्देशक सिद्धराज जोशीले गत आर्थिक वर्षमा मात्रै प्रदेशभर एक लाखभन्दा बढी नागरिकले हुलाक सेवा उपयोग गरेको जानकारी दिए। उनले सर्वसाधारणलाई हुलाक सेवाको उपयोग बढाउन आग्रह गरे।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले हुलाक कार्यालयलाई आत्मनिर्भर र स्वाभिमानी संस्थाका रूपमा विकास गर्नुपर्ने बताए। उनले सेवा केन्द्रमा मात्र सीमित नराखी विकेन्द्रीकृत रूपमा नागरिकको पहुँचसम्म पुर्‍याउनुपर्ने सुझाव दिए।

हुलाक विभागका महानिर्देशक मनमाया भट्टराईले हुलाक सेवालाई राज्यको ‘मुटु’को संज्ञा दिँदै यसलाई समयअनुकूल र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताइन्। हुलाक सेवालाई थप विश्वसनीय, प्रभावकारी र जनमुखी बनाउने विषयमा विभागले आवश्यक अध्ययन तथा काम अघि बढाइरहेको उनले जानकारी दिइन्। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित