सरस्वती जनता मावि बैबाहमा ‘स्मार्ट हाजिरी’ प्रणाली सञ्चालन

बेलडाँडी । बेलडाँडी गाउँपालिका-४ बैबाहस्थित सरस्वती जनता माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘All Attend Smart Attendance System’ सञ्चालनमा ल्याएको छ।

बेलडाँडी गाउँपालिकाभरिमै पहिलोपटक विद्यार्थी तथा शिक्षक-कर्मचारीका लागि डिजिटल हाजिरी प्रणाली सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र बहादुर बुढाले जानकारी दिए उनका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यालयको उपस्थिति व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले प्रणाली जडान गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिरामराम चौधरी, बेलडाँडी गाउँपालिका-४ का वडाध्यक्ष वीरबहादुर खड्का लगायत शिक्षक विद्यार्थीहरूको उपस्थितिमा स्मार्ट हाजिरी प्रणालीको उद्घाटन गरिएको हो।

नयाँ प्रणालीमार्फत विद्यार्थी तथा शिक्षक-कर्मचारीको बायोमेट्रिक तथा फेस रिकग्निसनमा आधारित डिजिटल हाजिरी, वास्तविक समयको उपस्थिति विवरण, दैनिक तथा मासिक रिपोर्ट तथा स्वचालित डिजिटल अभिलेखीकरण गर्न सकिनेछ। यसले ढिलो आउने तथा अनुपस्थित हुने विद्यार्थी र कर्मचारीको विवरणसमेत व्यवस्थित रूपमा राख्न सहयोग गर्नेछ।

प्रधानाध्यापक बुढाका अनुसार प्रणालीको अर्को महत्वपूर्ण विशेषता विद्यार्थीको विद्यालय प्रवेश र बाहिरिने समय (IN & OUT) समेत अभिलेख हुनु हो। यसबाट विद्यार्थी विद्यालयमा कति बजे प्रवेश गर्‍यो र कति बजे बाहिरियो भन्ने विवरण सहजै हेर्न सकिनेछ। यसले विद्यालय र अभिभावकबीचको सूचना तथा उत्तरदायित्वलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

‘हाजिरी व्यवस्थापनलाई कागजी प्रक्रियाबाट डिजिटल प्रणालीमा लैजानु समयको आवश्यकता हो,’ प्रधानाध्यापक बुढाले भने, ‘यसबाट शिक्षक–कर्मचारी तथा विद्यार्थीको उपस्थिति व्यवस्थापन सहज हुनुका साथै विद्यालय प्रशासन थप चुस्त र पारदर्शी बन्नेछ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले प्रविधिको प्रयोगले विद्यालयको प्रशासनिक कामलाई व्यवस्थित बनाउँदै शैक्षिक वातावरण सुधारमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै वडाध्यक्ष खड्काले विद्यालयले प्रविधिमैत्री अभ्यासको सुरुवात गर्नु सकारात्मक र अनुकरणीय कदम भएको बताए।

विद्यालयले स्मार्ट हाजिरी प्रणालीलाई केवल हाजिरी राख्ने नयाँ प्रविधिका रूपमा नभई डिजिटल, प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी विद्यालय निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

आधुनिक प्रविधिको सदुपयोग गर्दै गुणस्तरीय शिक्षा र प्रभावकारी विद्यालय व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धतासहित विद्यालयले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री अभ्यासलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित