काठमाडौँ । नेपालमा मनसुनी वर्षासँगै आएको पहिरो, बाढी तथा अन्य प्राकृतिक विपद्का घटनामा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। ती घटनामा ४३ जना घाइते भएका छन् भने ५ वटा चौपायाको समेत क्षति भएको छ।
विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनाबाट करिब ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।
विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी परिचालन गरिएको छ। उद्धारका क्रममा दुई जनालाई सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। पछिल्लो २४ घण्टामा पहिरोका कारण मात्रै १० जनाले ज्यान गुमाएका छन्।
यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ८ः४५ बजेसम्म देशभरका ४ सय १४ वर्षा मापन केन्द्रमध्ये ३ सय ४५ केन्द्रमा वर्षा मापन भएको छ। सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमुल केन्द्रमा १५२.९ मिलिमिटर रेकर्ड गरिएको छ।
२४ घण्टामा चितवनको रामपुरमा अधिकतम तापक्रम ३८.० डिग्री सेल्सियस मापन भएको छ भने मुस्ताङको लेतेमा २०.६ डिग्री सेल्सियस मापन गरिएको छ। न्यूनतम तापक्रम विराटनगरमा २८.० डिग्री सेल्सियस तथा मुस्ताङको थाकमाफाप र मार्फामा ८.८ डिग्री सेल्सियस रेकर्ड भएको विभागले जनाएको छ।
चालु आर्थिक वर्ष २०८३ वैशाख १ गतेदेखि साउन २९ गतेसम्म देशभर ४ हजार ६ सय ५९ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी हालसम्म २ सय २९ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।
सोही अवधिमा १ हजार ४ सय ६३ जना घाइते भएका छन् भने ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। समीक्षा अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंश र पहिरोका कारण भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ।




















Discussion about this post