केशव थापा – बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्ला स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङ्लाशैनी क्रिकेट क्लबले हात पारेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि १ विकेटको संघर्षपूर्ण जित निकाल्दै निङ्लाशैनीले उपाधि रक्षा गर्याे । उपाधिसंगै निङ्लाशैनीले ५० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे । एकेडेमीले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
एकेडेमीले दिएको २२९ रनको लक्ष्य पन्छाएको निङलाशैनीले ४६.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्याे । जसमा खडक बोहराले अर्धशतकीय पारी खेले ।
म्यान अफ द फाइनल बनेका खडकले ८२ रन जोडे। एकेडेमीका सन्तोष चन्दले ४ विकेट हात पारे । त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एकेडेमी ४९ ओभरमा २२८ रनमा समेटियो । उसका बसन्त खत्रीले ५८ रनको योगदान गरे ।
निङ्लाशैनीका कप्तान रिसिकेश बोहरा र खडक बोहराले ३/३ विकेट हात पारे यसैबीच प्रतियोगिताभर ५४६ रन र ८ विकेट लिन सफल निङ्लाशैनीका खडक बोहरा सर्वाेत्कृष्ट खेलाडी र बेस्ट बलर हुँदै साढे ७ हजार पुरूस्कार हात पारे ।
प्रतियोगितामा १४ विकेट लिएका एकेडेमीका बसन्त खत्री बेस्ट बलर हुदै २ हजार ५ सय पुरूस्कार पाए । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दलगायतले पुरूस्कार वितरण गरे ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोली सहभागी रहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताए । प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
Discussion about this post