बेलडाँडी । बेलडाँडी गाउँपालिकाले चवन्नी बजारदेखि कालिकिच जोड्ने सडक खण्ड निर्माणका लागि सडक भित्र पर्ने निजी संरचना हटाउन २ पटक सार्वजनिक सूचना जारी गरेपछि पनि, पालिका प्रमुख हरिशचन्द्र रानाले नियम र कानूनी प्रक्रिया अनुसार सडकको नक्साभित्र पर्ने संरचना हटाउन पुनः अपील गरेका छन् ।
पालिका प्रमुख रानाले भने, “हामीले पालिकाको समृद्धिका लागि व्यापारीहरूको माग अनुसार बजार र पर्यटक क्षेत्रलाई जोड्नको लागि सडक विस्तारमा जोड दिएको छौं ।“ यसका साथै उनले भने, “केही व्यापारीहरूले सूचनाको पालना गर्दै प्रक्रियामा सहयोग गरिरहेका छन् भने, केही व्यापारीहरूले डोजर चल्ने वित्तिकै समान सर्नुपर्ने सोच राखेर मौनता अपनाएका छन् ।“
उनले थपे, “अन्जानमा बनाइएका संरचनाहरू भत्किनु पर्छ भन्ने कुरा मलाई पनि दुःखदायी छ । मेरो परिवारको ५,७ कट्ठा जमिनबाट साटेको घडेरी र त्यसपछि खेतीबाट आएको पैसाले बनाएको घर पनि भत्किदै छ । मलाई थाहा छ, यो दुःख सबैलाई छ, र हामी सबैको दुःख एउटै हो ।“
सडक विस्तारको लागि सबैले मिलेर सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । “अब हामी सबै मिलेर नक्साअनुसारको क्षेत्रमा रहेका संरचनाहरू हटाउनु पर्छ । यो बाध्यता हो, न एक दिन हामीले खाली गर्नु पर्छ, त्यसैले अहिले नै मिलेर अघि बढ्नु उत्तम हुनेछ ।“
“सडक विस्तारका क्रममा प्रारम्भिक असहजताहरू आउन सक्छन्, तर दीर्घकालीन रूपमा यसले सबैलाई फाइदा पुर्याउँछ । व्यवस्थित सडकले व्यापार, यातायात, पर्यटन र सम्पत्ति मूल्यमा वृद्धि गर्छ,“ रानाले थपे ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, समग्र समुदायको हितलाई प्राथमिकता दिनु पर्दछ । “कानूनी रूपमा नक्साको बाटोलाई कुनै व्यक्तिले निजीकरण गर्न सक्दैन, त्यसैले सबैले नक्साको बाटो खोल्ने सहमतिमा आउनु पर्छ ।
रानाले अन्त्यमा भने, “राज्यद्धारा प्राप्त बजेटअनुसार कार्य गर्नु मेरो कर्तव्य हो । यद्यपि, यो कार्य गर्दा मलाई पनि मुटुमा ढुङ्गा राखेर हाँस्नु परेको छ । समय ढल्किदै छ, हामीले २ पटक सूचना जारी गरिसकेका छौं, अब सबैले त्यसको पालना गरेर विकासको पथमा अघि बढ्नुपर्छ भन्दै अन्तिम पटक यस क्षेत्रकै विश्वासीलो भरपर्दो मिडिया मार्फत आग्रह गरे ।“
सडक विस्तारका लागि गरिएको प्रयास समग्र समुदायको हितमा हुनेछ । यसले बेलडाँडीको समृद्धि र प्रगतिको बाटो खोल्नेछ । अब यस योजनामा सबैको सहयोग आवश्यक छ, ताकि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै मिलेर विकासका कार्यमा अघि बढ्न सकियोस् ।






















Discussion about this post