बैतडी , बैतडीमा १६ हजार बढि राष्ट्रिय परिचयपत्र सेवाग्राहीले नलिँदा कार्यालयमै थन्किएका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार छपाइ भई आएका १६,९०८ थान परिचयपत्र वितरण हुन बाँकी छन्।
प्रशासनका सूचना अधिकारी पवन कुमार शाहीका अनुसार एक वर्षअघि २० हजार परिचयपत्र जिल्लामा पुगे पनि हालसम्म मात्र ३,०९२ वटा वितरण भएका हुन् । राष्ट्रिय परिचयपत्र लिन बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने हुँदा सेवाग्राही कम आएको अनुमान गरिएको छ।परिचयपत्र पुगेको जानकारी सम्बन्धित व्यक्तिको मोबाइलमा पठाइए पनि धेरैलाई यसबारे जानकारी नहुँदा लिन नआएको हुन सक्ने जनाएको छ।
अध्ययन तथा रोजगारीका लागि बाहिर रहेकाहरू तथा भौगोलिक विकटताका कारण पनि धेरैले लिन ढिलाइ गरेको अनुमान गरिएको छ।कार्यालयका अपरेटर सुरेन्द्रदेव भट्टका अनुसार दैनिक ६०–७०जनाले फाराम भरे पनि छपाइ भई आएका परिचयपत्र लिन ८–१० जना मात्र आउने गरेका छन्। बैतडीमा हालसम्म १ लाख २२ हजार ९२० जनाको विवरण संकलन भइसकेको छ।
Discussion about this post