कञ्चनपुर — भीमदत्त नगरपालिका–११ की कसी सुनारको रहस्यमय मृत्यु प्रकरणमा उनका श्रीमान, सौता र छोरा पक्राउ परेका छन्।
शनिबार महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्किएकी ५५ वर्षीया कसी सुनारको मृत्यु रहस्यमय बनेको छ। मृतककी बुहारीले सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनार मिलेर सिरानीले घाँटी अठ्याएर हत्या गरेको आरोप लगाएकी छन्।
स्थानीय तथा आफन्तहरूले समेत यो घटना हत्या भएको दाबी गरेका छन्। मृतककी बुहारीका अनुसार उनका सासूले एक्लै दुःख गरी छोराछोरी हुर्काएकी थिइन्। उनका श्रीमान् गोपाल सुनार ३० वर्षअघि दुई महिनाकी गर्भवती कसीलाई धोका दिएर मिरा देवीसँग बहुविवाह गरेर भारत गएका थिए। केही दिनअघि मात्रै उनी कान्छी श्रीमती र छोरासहित भारतको दिल्लीबाट नेपाल फर्किएका थिए।
परिवारका सदस्यहरूबीच सम्पत्तिसम्बन्धी विवाद हुँदै आएको र कसी सुनारलाई घर छोड्न दबाब दिइरहेको मृतकका आफन्तहरूको भनाइ छ। मृतकका भाइ सुनील सुनारले आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Discussion about this post