मलेसियामा हत्या गरिएकी नवलपुरकी तिलमायाको शव ११ महिनापछि आज नेपाल आउँदै

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव ११ महिनापछि आज नेपाल ल्याइँदै छ । रोजगारीका लागि मलेसिया गएकी २५ वर्षीया तिलमायाको गत वैशाख २९ गते हत्या गरिएको थियो । शव ल्याउन ढिलाइ हुँदा परिवारले ठूलो दुःख भोग्नुपरेको थियो ।

श्रीमान् सँग सम्बन्धविच्छेद गरी छ वर्षीय छोरीलाई आमाको जिम्मा लगाएर मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेको खुलेको छ । छोरीको मृत्युको खबर पाएदेखि नै ७० वर्षीया आमा धनमाया सार्कीले शव नेपाल ल्याउन विभिन्न निकायमा पहल गर्दै आएकी थिइन् । तर, हत्याको अनुसन्धान नसकिएको भन्दै शव पठाउन मलेसियाले ढिलाइ गरिरहेको थियो ।

मुद्दा समाधान नहुँदा शव ल्याउन ढिलाइ भएको विषय सञ्चारमाध्यममा आएपछि प्रक्रिया अगाडि बढेको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन् । उनका अनुसार तिलमायाको शव बोकेको विमान सोमबार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । शव बुझ्न उनकी दिदी नीलमाया सार्की आइतबार नै काठमाडौँ गइसकेकी छन् ।

शव नेपाल ल्याउने खर्च मलेसियन कम्पनीले बेहोर्नेछ। साथै, वैदेशिक रोजगार बोर्डले निःशुल्क शववाहन उपलब्ध गराउने भएकाले सोमबार साँझसम्म तिलमायाको माइतीघर कावासोती–४, हसौरामा शव पुग्ने लम्सालले जानकारी दिइन् ।

११ महिनासम्म शव नपाउँदा वृद्ध आमा र नाबालिका छोरी पीडामा थिए । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया स्थानीय प्रशासनका कार्यालय धाउँदै आएकी थिइन् । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्युपछि एक वर्षभित्र आर्थिक सहायता पाउन निवेदन दिनुपर्ने भएकाले तिलमायाको परिवारले निवेदन दिइसकेको लम्सालले बताइन् । शवसँगै आउने थप कागजात पछि बुझाइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित