भक्तपुर – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सम्पूर्ण तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार चैत ७ गतेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने छ। परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री—प्रश्नपत्र, उत्तरपुस्तिका, सिम्बोल नम्बर आदि प्रत्येक जिल्लामा पठाइसकिएको छ।
गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थीको सङ्ख्या ४९ हजार २८६ ले वृद्धि भई कुल ५ लाख १४ हजार ७१ पुगेको छ। परीक्षाका लागि देशभर २,०७९ परीक्षा केन्द्र निर्धारण गरिएका छन्। परीक्षामा १५० जनासम्म परीक्षार्थी भएका केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र प्रत्येक २० जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने व्यवस्था गरिएको छ।
विशेष व्यवस्थाका रूपमा तीनवटा परीक्षा केन्द्र बाल सुधार गृह तथा कारागारभित्र तोकिएको छ। यस वर्ष कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका चार जना एचआइभी सङ्क्रमित विद्यार्थी पनि एसइई परीक्षामा सहभागी हुने भएका छन्।
परीक्षा चैत ७ गते अनिवार्य अंग्रेजी विषयबाट सुरु भई चैत १९ गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष पनि परीक्षा परिणाम लेटर ग्रेडिङ प्रणालीअनुसार प्रकाशित गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। गत वर्ष यो दर मात्र ४८ प्रतिशत रहेको थियो।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षार्थीलाई अनुशासन र मर्यादा कायम गर्दै परीक्षा दिन परीक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ।
Discussion about this post