कञ्चनपुर, १३ चैत्र – भारतको देहरादुनमा ८ चैत्रदेखि सञ्चालन भएको ईण्डो नेपाल व्यापार तथा पर्यटन महोत्सव उत्तराखण्डका कृषि तथा कृषक कल्याणमन्त्री गणेश जोशीले अवलोकन गरेका छन्।
मंगलबार महोत्सव स्थलको भ्रमण गर्दै मन्त्री जोशीले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउन महोत्सवले विशेष योगदान पु¥याउने बताए। उनले दुवै देशका कृषि उत्पादन, वस्तु तथा सेवाको प्रवद्र्धनमा मेलाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले मन्त्री जोशीलाई स्वागत गरेका थिए।
महोत्सवमा नेपालका विभिन्न कृषि उत्पादन तथा मौलिक वस्तुहरूको स्टल राखिएको छ। कञ्चनपुरको मह, जुम्लाको मार्सी चामल, नेपाली ढाका टोपी, खुकुरी, चाउचाउ, चुरापोते, गलैंचा लगायतका सामग्रीले भारतीय उपभोक्ताको ध्यान आकर्षित गरेको छ। साथै, नेपाली मौलिक परिकार तथा घरेलु सामग्रीहरू प्रदर्शनमा राखिएको छ, जसले देहरादुनमा रहेका नेपालीमूलका नागरिकहरूलाई स्वदेशी उत्पादन सहजै उपभोग गर्ने अवसर प्रदान गरेको छ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीका अनुसार महोत्सवले नेपालमा उत्पादित वस्तुको प्रवद्र्धन, बजारीकरण तथा भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। उनले यसअघि सन् २०१७ र २०१८ मा दुई पटक मेला सफलतापूर्वक सम्पन्न भइसकेको बताउँदै, यस पटक तेस्रो संस्करण थप व्यवस्थित रूपमा सञ्चालन गरिएको जानकारी दिए।
सुदूरपश्चिमका युवा उद्यमी तेज बहादुर चन्दका अनुसार देहरादुन रणनीतिक रूपमा महत्वपूर्ण शहर भएकाले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ। उनले भने, “यो मेला केवल रमाइलोका लागि मात्र होइन, यसले दीर्घकालीन रूपमा नेपाली उत्पादनलाई भारतीय बजारमा स्थापित गर्ने लक्ष्य राखेको छ। यदि हामीले आफ्ना उत्पादनहरू भारतमा प्रभावकारी रूपमा खपत गर्न सक्यौं भने, ठूलो आर्थिक लाभ लिन सक्छौं।“
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा करोडौं रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।
Discussion about this post