काठमाडौं :गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा भइरहेको सार्वजनिक यातायात बन्दको क्रममा आन्दोलनमा उत्रिएका १४ जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, पक्राउ परेकामध्ये १२ जना काठमाडौं र २ जना पूर्वी नवलपरासीबाट पक्राउ परेका हुन्। ‘उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय काठमाडौं र पूर्वी नवलपरासीमा अनुसन्धान भइरहेको ’ थापाले जानकारी दिएका छन् ।
यातायात व्यवसायीहरूले निजी सवारीसाधन (रातो प्लेट) बाट सार्वजनिक सेवा प्रवाह गर्नेसम्बन्धी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोध गर्दै देशभर सार्वजनिक यातायात बन्द गराएका हुन्।
यसैबीच, नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि सोमबारका लागि बन्दको घोषणा गरेको थियो। तर, आइतबार बेलुकी नै पक्राउ परेका कमल थापा, दीपक सिंहलगायतका नेताहरू रिहा भइसकेका छन्।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने उक्त बन्दमा आफूहरूको समर्थन नरहेको स्पष्ट पारेको छ।
सार्वजनिक यातायात ठप्प हुँदा राजधानीसहित देशका विभिन्न स्थानहरूमा यात्रुहरू मर्कामा परेका छन्। प्रहरीले आन्दोलन नियन्त्रणमा लिन विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाएको जनाएको छ।
Discussion about this post