काठमाडौं :‘युके पठाइदिने’ प्रलोभन देखाउँदै ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङ घर भई काठमाडौंको सरस्वतीनगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा घर भई काठमाडौंको नरेफाँट बस्ने ४७ वर्षीय अरूणराज शर्मालाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार हालसम्म ३८ जना पीडितहरू प्रहरी सम्पर्कमा आएका छन्। ती पीडितहरूबाट कूल ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंको निर्देशनमा ती दुई जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। उनीहरूले वैदेशिक रोजगारीका लागि यूके लैजाने बहानामा ठगी गरेका थिए।
पक्राउ परेका दुवैजनालाई सोमबार नै विभागमा बुझाइएको छ र उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post