धनगढी । सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा कञ्चनपुरको गड्डाचौकीबाट पूर्व-पश्चिम झण्डा मार्च आइतबारदेखि सुरु गरिएको छ।
नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीबाट सुरु गरिएको झण्डा मार्चको शुभारम्भ सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले गरेका हुन्। उनले राष्ट्रिय झण्डा र संगठनको झण्डासहित झण्डा मार्चमा सहभागी सशस्त्र प्रहरीको टोलीलाई औपचारिक रूपमा बिदाई गरे।
झण्डा मार्चको उद्देश्य सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रालाई स्मरणीय बनाउनुका साथै राष्ट्रव्यापी सन्देश प्रवाह गर्नु रहेको बाहिनीपति पालले बताए। उनका अनुसार यो यात्राले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षामा निर्वाह गरेको भूमिकालाई उजागर गर्नेछ।
३५ जनाको टोलीले पैदल रूपमा सहभागी हुने यो झण्डा मार्च गड्डाचौकीबाट सीमा क्षेत्र हुँदै अघि बढ्दै १९औँ दिनमा नवलपुर पुग्नेछ। यसैबीच, झापाबाट पनि आजैदेखि पूर्वतर्फबाट झण्डा मार्च सुरु गरिएको छ। पश्चिम र पूर्वबाट सुरु भएका दुवै टोली १९औँ दिनमा नवलपुरमा भेट हुनेछन्।
नवलपुरमै विशेष समारोहको आयोजना गरी सशस्त्र प्रहरीले रजत महोत्सव भव्य रूपमा मनाउने जनाएको छ। झण्डा मार्चले संगठनको एकता, अनुशासन र राष्ट्रप्रतिको प्रतिबद्धताको सन्देश देशभर फैलाउने विश्वास लिइएको छ।























Discussion about this post