बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पछिल्लो समय जंगली हात्तीको आतंक बढ्दै गएको छ। विशेषगरी बेलडाँडी गाउँपालिका वडा नं. ५ को झिलमिला बस्तीमा दैनिकजसो जंगली हात्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
जंगली हात्तीले अहिलेसम्म २,३ जनाको घर भत्काइदिएको छ भने घरभित्र भण्डारण गरेर राखिएको अन्नबाली समेत सखाप पारेको छ। हिजो र अस्ती लगातार पटक-पटक बस्तीमा पसेका हात्तीले झिलमिलावासीको रातको निद्रा हराम बनाएको छ।
स्थानीय कमल गिरी र बिरजनी गिरीको घरमा जंगली हात्ती दुई–दुई पटक पसेर अन्नबाली नष्ट गरेको पीडितहरूले बताएका छन्। निरन्तरको हात्ती आतंकका कारण गाउँलेहरू रातभर आगो बालेर जाग्राम बस्ने, टेक्टर कुदाएर हात्ती तर्साउने प्रयास गर्न बाध्य भएका छन्।
झिलमिलाका भलमन्सा विक्रम चौधरीका अनुसार सम्बन्धित निकायले जंगली जनावर नियन्त्रणमा चासो नदेखाएको भन्दै स्थानीयहरू निराश बनेका छन्। उनले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न र जंगली जनावरको आतंक रोक्न प्रभावकारी पहल गर्न माग गरेका छन्।
बन्यजन्तु संरक्षणमा खटिएको टोलीसमेत मुखदर्शकजस्तै बनेपछि स्थानीयको चिन्ता झनै बढेको छ। जंगली हात्तीको बढ्दो आतंकले जनधनको क्षति हुनुका साथै स्थानीयको दैनिकी नै प्रभावित बनेको छ।























Discussion about this post