कञ्चनपुरमा मानव-हात्ती द्वन्द्व भयावह : १२ वर्षमा १७ जनाको मृत्यु, २३ घाइते

बेलडाँडी । कञ्चनपुरमा पछिल्ला वर्षहरूमा मानव-वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन् । मानव बस्ती विस्तार, वन क्षेत्रको अतिक्रमण तथा वन्यजन्तुको प्राकृतिक बासस्थान र आवतजावत गर्ने करिडोरमा आएको अवरोधका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व थप जटिल बन्दै गएको हो ।

विशेषगरी जंगली हात्तीको आक्रमणबाट जिल्लामा मानवीय क्षतिसँगै अन्नबाली, घरगोठ तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति हुँदै आएको छ । उपलब्ध विवरणअनुसार २०७१ असोजदेखि २०८३ कात्तिकसम्म कञ्चनपुरमा हात्तीको आक्रमणबाट १७ जनाले ज्यान गुमाएका छन् भने २३ जना घाइते भएका छन् । हात्तीबाट अन्नबाली तथा भौतिक संरचनामा भएको क्षतिको यकिन विवरण भने उपलब्ध हुन सकेको छैन ।

भारतको दुधुवा नेसनल पार्कबाट अन्नबाली पाक्ने सिजनमा नेपाल प्रवेश गर्ने हात्तीका बथानले कञ्चनपुरका विभिन्न बस्तीमा आतंक मच्चाउँदै आएका छन् । पुनर्वासदेखि लालझाडी, बेलौरी, बेलडाँडी, कृष्णपुर, शुक्लाफाँटा, वेदकोट, भीमदत्त र दोधारा-चाँदनीसम्मका बस्ती हात्तीको जोखिममा पर्दै आएका छन् ।

उपलब्ध घटनाक्रमअनुसार २०७१ असोज ११ गते भारतको दुधुवा नेसनल पार्कबाट आएको हात्तीको बथान पुनर्वासको विकास बस्तीमा प्रवेश गरेको थियो । हात्ती धपाउने क्रममा पुनर्वास नगरपालिका-१० का करिब ४९ वर्षीय गर्भुराम चौधरीले ज्यान गुमाएका थिए ।

त्यसैगरी, २०७३ असोज २९ गते लालझाडी गाउँपालिका-६ चाँदेवबाट श्रीमान्सँग साइकलमा यात्रा गरिरहेकी बेलौरी नगरपालिका-५ रामघाटकी ३५ वर्षीया सुन्दरी चौधरी हात्तीको आक्रमणमा परेर मृत्युको सिकार बनिन् । उनका श्रीमान् आशाराम चौधरी भने भागेर ज्यान जोगाउन सफल भएका थिए । सोही वर्ष माघ २१ गते पुनर्वास नगरपालिका-९ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको पनि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

२०७६ असोज २९ गते शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ६५ वर्षीय बलदेव बोहराले घरायसी कामले साइकलमा अर्को गाउँ जाने क्रममा हात्तीको आक्रमणमा परी ज्यान गुमाए । सोही वर्ष मंसिर २५ गते दोधारा-चाँदनी नगरपालिका-२ मा हात्तीले ६ जना महिलामाथि आक्रमण गरेको थियो । उक्त घटनामा ४२ वर्षीया बिस्ना भट्ट (वसन्ती) र ५० वर्षीया भुरी बोहराको मृत्यु भएको थियो भने सुनिला विष्ट, सरस्वती ओझा, कुमादेवी साउद र ललिता बोहरा घाइते भएका थिए ।

२०७७ फागुन १३ गते पुनर्वास नगरपालिका-९ की ६२ वर्षीया धनादेवी थापाको भारतीय दुधुवा नेसनल पार्कभित्र हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

२०७८ कात्तिक ३ गते शुक्लाफाँटा नगरपालिका-१२ कालागौडी दुबाहखल्लाका ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी ५५ वर्षीया श्रीमती मथुरा कार्कीले हात्तीको आक्रमणमा परी ज्यान गुमाए । सोही वर्ष मंसिर २५ गते लालझाडी गाउँपालिका-६ चाँदेवका ४८ वर्षीय खगराज रानाको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो ।

त्यसको एक वर्ष नपुग्दै शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाकी २२ वर्षीया मिरा जोशी हात्तीको आक्रमणमा परेर ज्यान गुमाउन पुगिन् । उनको मृत्यु भएको तीन महिनापछि २०७९ मंसिर २० गते वेदकोट नगरपालिका-१ हात्तीथलाकी ७१ वर्षीया हिरादेवी धानुकको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो ।

२०७९ पछिका वर्षहरूमा पनि हात्तीको आक्रमणबाट हुने मानवीय क्षति रोकिएन । २०८१ असोज २१ गते बेलौरी नगरपालिका-६ ढक्का चाँदरका २२ वर्षीय उमेश चौधरीको मृत्यु भयो । २०८२ कात्तिक २ गते ढक्का शिविरतर्फ जाने क्रममा बेलौरी नगरपालिका-३ बुटाबारीका ६५ वर्षीय श्रीप्रसाद आचार्य हात्तीको आक्रमणमा परेर मारिए । त्यसको दुई साताभन्दा कम समयपछि कात्तिक ९ गते भीमदत्त नगरपालिका-१४ वनकट्टीकी ५४ वर्षीया धना विष्टले आफ्नै घरमा हात्तीको आक्रमणबाट ज्यान गुमाइन् ।

२०८२ माघ २५ गते आरक्षपीडित लालझाडी गाउँपालिका-६ ढक्का चाँदेवकी रोजिना साउदको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो ।

पछिल्लो घटनाका रूपमा २०८३ कात्तिक २५ गते शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया आरक्षपीडित लक्ष्मी डगौराले हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी छन् ।

हात्तीको आक्रमणबाट घाइते हुनेहरूमा महावीर क्षेत्री, सुनिता विष्ट, सरस्वती ओझा, कुमादेवी सायद, ललिता बोहरा, जानकी धामी, दुर्गा महरा, सीताराम डगौरा, डम्बरसिंह लुहार, प्रकाशसिंह महता, मानबहादुर कुँवर, राधादेवी बोगटी, ललु सार्की, भागरथीदेवी भट्ट, ज्ञानेन्द्र धानुक, कलावती भाट, जितबहादुर भाट, रत्ना सार्की, लक्ष्मीदेवी जोशी, बाजी राना, जयन्ती भट्ट जोशी, छक्कु डगौरा र पार्वती साउद रहेका छन् ।

वर्षेनि दोहोरिने यस्ता घटनाले वन्यजन्तु संरक्षणसँगै मानव सुरक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको देखाएको छ । हात्तीको प्राकृतिक आवतजावत मार्ग संरक्षण, जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणालीको प्रभावकारी व्यवस्था, सुरक्षित आवागमन तथा क्षतिको उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता गर्नुपर्ने आवश्यकता देखिएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित निकायले दीर्घकालीन योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्न नसके स्थानीय बासिन्दाले भोग्दै आएको जोखिम अझै बढ्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित