बेलडाँडी । सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा कञ्चनपुरको गड्डाचौकीबाट सुरु गरिएको पूर्व-पश्चिम झण्डा मार्च निरन्तर अघि बढिरहेको छ । आइतबार सुरु भएको उक्त झण्डा मार्च टोली आज सीमा क्षेत्र हुँदै बेलडाँडी गाउँपालिका, झिलमिलास्थित सीमा स्तम्भ नम्बर ७८५ मा आइपुगेको छ ।
गड्डाचौकीबाट दोधारा देवीस्थानहुदै प्रस्थान गरेको झण्डा मार्च टोलीलाई बेलडाँडी, झिलमिला, बेलौरी क्षेत्रको टोलीले औपचारिक रूपमा हस्तान्तरण पाएको हो । उताका मार्च टोलीका कमाण्डर गुल्मपति गजेन्द्र बहादुर चन्दले बेलौरीस्थित टोलीका गुल्मपति इश्वरी दत्त भट्टलाई आज बिहानै झण्डा मार्चको जिम्मेवारी हस्तान्तरण गरेका हुन । झिलमिला बीओपीका अनुसार आज बिहान साढे ८ बजे एक कार्यक्रमको आयोजना गरी टोली हस्तान्तरण गरिएको हो ।
यसअघि, नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीबाट झण्डा मार्चको औपचारिक शुभारम्भ सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले गरेका थिए। उनले राष्ट्रिय झण्डा र संगठनको झण्डासहित झण्डा मार्चमा सहभागी सशस्त्र प्रहरी टोलीलाई औपचारिक बिदाइ गर्दै राष्ट्रसेवाप्रतिको प्रतिबद्धताको सन्देश दिएका थिए।
झण्डा मार्चको मुख्य उद्देश्य सशस्त्र प्रहरी बल नेपालको २५ वर्षे गौरवपूर्ण यात्रालाई स्मरणीय बनाउँदै संगठनको इतिहास, योगदान तथा सीमा सुरक्षामा निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई राष्ट्रव्यापी रूपमा उजागर गर्नु रहेको जनाइएको छ ।
३५ सदस्यीय टोलीले पैदल यात्रा गर्दै सीमा क्षेत्र हुँदै अघि बढ्ने यो झण्डा मार्च १९औँ दिनमा नवलपुर पुग्ने लक्ष्य राखिएको छ। यसै क्रममा, पूर्वी नेपालका झापाबाट पनि आइतबारदेखि नै अर्को झण्डा मार्च सुरु भइसकेको छ। पूर्व र पश्चिमबाट सुरु भएका दुवै टोली १९औँ दिनमा नवलपुरमा ऐतिहासिक भेट हुनेछन्।
नवलपुरमा विशेष समारोहको आयोजना गरी सशस्त्र प्रहरी बलले रजत महोत्सव भव्य रूपमा मनाउने तयारी गरेको जनाएको छ। झण्डा मार्चमार्फत संगठनको एकता, अनुशासन, देशप्रतिको निष्ठा र सीमा सुरक्षामा सशस्त्र प्रहरीको समर्पण भाव देशभर फैलिने विश्वास लिइएको छ।
आज बिहान बेलडाँडीबाट झण्डासहितको मार्च टोली अघि बढेसँगै रजत महोत्सवको उत्साह सीमा क्षेत्रदेखि राष्ट्रव्यापी रूपमा थप सशक्त बनेको छ।
























Discussion about this post