बेलडाँडी । बेलडाँडी गाउँपालिका भुर्षास्थित गणेश माध्यमिक विद्यालयमा शिक्षक रमाना बुझेर पनि हाजिर नभएपछि पठनपाठनमा गम्भीर समस्या देखिएको छ । एसइई परीक्षाको मुखमै आएका विद्यार्थीहरू शिक्षकको गैरजिम्मेवार व्यवहारका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
रौलेश्वर माध्यमिक विद्यालयबाट गणेश मावि भुर्षाका लागि रमाना लिएका गणित विषयका शिक्षक कृपाराम उपाध्याय हालसम्म विद्यालयमा हाजिर नभएको खुलेको छ । रमाना बुझेर विद्यालय जानुपर्ने समयमा उनी अदालत धाइरहेको जानकारी प्राप्त भएको छ ।
गाउँपालिकाले गरेको आन्तरिक दवन्दी मिलानको निर्णय अनुसार सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु सिंह भण्डारीले ल्याएको रमाना बुझ्दै उपाध्यायले कार्तिक २७ गते उनलाई रौलेश्वर माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका थिए । सोही दिन आफूले पनि गणेश माविका लागि रमाना बुझेका उपाध्याय विद्यालय नजाँदा विद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको हो ।
यसअघि कार्तिक १७ गते भण्डारी रौलेश्वर माविमा हाजिर भएको जानकारी समेत उपाध्यायले नै बेलडाँडी गाउँपालिकालाई गराएका थिए । तर रमाना बुझिसकेपछि उपाध्याय न त कक्षाकोठामा पठनपाठनका लागि जान्छन्, न त विद्यालय प्रशासनसँग समन्वय गर्छन् भन्ने गुनासो रौलेश्वर माविका शिक्षक स्रोतले बताएका छन् ।
अझ अचम्मको कुरा त उपाध्यायले अर्का शिक्षकलाई समेत रमाना दिएका छन् । ती शिक्षक रमाना पाएको विद्यालयमा नियमित रूपमा कार्यरत रहँदा उपाध्याय भने रमाना बुझेर फेरि पुरानै विद्यालयमा मनोमानिगत तरिकाले बसेको देखिएको छ ।
उपाध्यायले आफू माथि आन्तरिक दरबन्दी मिलान अन्यायपूर्ण भएको दाबी गर्दै बेलडाँडी गाउँपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा उजुरी हाल्दै अन्तरिम आदेशको माग गरेका थिए । तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिनुपर्ने अवस्था नरहेको ठहर गर्दै गाउँपालिकालाई नियमानुसार काम गर्न सक्ने जानकारी गराएको थियो । त्यसपछि पनि चित्त नबुझेको भन्दै उनी प्रशासनिक अदालत पुगेका थिए ।
शिक्षक राज्यको कर्मचारी भएको र आफ्नो मुख्य दायित्व विद्यार्थीलाई पढाउनु हो भन्ने कुरा उपाध्यायले बुझ्न नसक्दा गणेश माध्यमिक विद्यालयका विद्यार्थीको भविश्यमा अन्योल सिर्जना भएको स्थानीयको भनाइ छ । मुद्दा लड्ने भए समयमै लड्नुपर्ने, तर आफैं रमाना दिने, आफैं रमाना बुझ्ने र आफैं निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिने कार्यले उनीमाथि गम्भीर प्रश्न खडा भएको छ ।
एसइई नजिकिँदै गर्दा यस्तो गैरजिम्मेवार व्यवहारले विद्यार्थीको भविष्यमा खेलबाड भइरहेको भन्दै अभिभावक र सरोकारवालाले तत्काल समस्या समाधानको माग गरेका छन् ।
























Discussion about this post