डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कम्युनिस्ट युवा संगठनद्वारा जनकारबाही

डडेल्धुरा । कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि जनकारबाही गरेको छ। संगठनका कार्यकर्ताले अध्यक्ष ओझालाई उनकै कार्यकक्षमा कालोमोसो दल्दै विरोध जनाएका हुन्।

अस्पतालमा व्याप्त भ्रष्टाचार, अनियमितता र लापरवाहीविरुद्ध जनकारबाही गरिएको भन्दै संगठनले एक विज्ञप्ति जारी गरी घटनाको कारण सार्वजनिक गरेको छ। विज्ञप्तिमा अध्यक्ष ओझामाथि गम्भीर आरोपहरू लगाइएको छ।

विज्ञप्तिअनुसार अध्यक्ष ओझाले कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारी नयाँ उपकरण खरिद प्रक्रियामा लैजाने गरेको आरोप छ। हाल प्रयोगमा रहेको ठूलो एक्स–रे मेसिन बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाइएको उदाहरण दिइएको छ, जसबाट लाखौँ रुपैयाँको भ्रष्टाचार भएको दाबी गरिएको छ।

त्यसैगरी, जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिबाट सेवा प्रवाह गर्नुको सट्टा कर्मचारी भर्नामा आर्थिक तथा राजनीतिक चलखेल गरी अस्पताललाई ‘राजनीतिक भर्ती केन्द्र’ बनाइएको आरोप लगाइएको छ। अस्पताललाई मदिरा सेवन गर्ने थलो बनाइएको, आय-व्यय विवरण सार्वजनिक नगरिएको र सार्वजनिक सुनुवाइसमेत नगरेको विज्ञप्तिमा उल्लेख छ।

संगठनले अस्पतालसँग सम्बन्धित सेवा, मर्मत तथा निर्माणका कामहरूमा आफ्ना आसेपासेलाई कोटेसन दिलाएर कमिसन खाने, स्थायी दरबन्दी खाली हुँदाहुँदै करार तथा ज्यालादारी कर्मचारीमार्फत आर्थिक खेलवाड गर्ने, औषधि तथा उपकरण खरिदमा गुणस्तरभन्दा कमिसनलाई प्राथमिकता दिने जस्ता आरोप पनि लगाएको छ।

विज्ञप्तिमा सुदूरपश्चिमकै रेफर अस्पताल हुँदाहुँदै पनि चरम लापरवाहीका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको, लाखौँ मूल्यका उपकरण खरिद गरी थन्क्याउने, सूचना लुकाउने र जवाफदेहिताबाट पन्छिने प्रवृत्तिले अस्पतालको छवि खस्किएको उल्लेख गरिएको छ।

कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले अस्पतालमा देखिएका अनियमितता तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। संगठनले जनस्वास्थ्यसँग जोडिएको संस्थामा हुने कुनै पनि प्रकारका भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष जारी रहने चेतावनीसमेत दिएको छ। विज्ञप्तिमा सहविर अध्यक्ष कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराको हस्ताक्षर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित