लाल ब. एसके/पुनर्वास । पुनर्वास नगरपालिकालाई नेपालको राष्ट्रिय बहाई समुदायको राष्ट्रिय आध्यात्मिक सभाको नेतृत्वमा आवश्यक सामग्री सहयोग हस्तान्तरण गरिएको छ। बहाईका राष्ट्रिय आध्यात्मिक सभाका उपाध्यक्ष सोमनाथ रानाको नेतृत्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाको कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीहरू प्रदान गरिएको हो।
पुनर्वास नगरपालिका–नगर कार्यपालिकाको कार्यालयका अनुसार २०८२ साल भदौ २३/२४ गते जेन–जी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीबाट भौतिक क्षति पुगेपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको थियो। सोही कठिन परिस्थितिमा बहाई समुदायबाट प्राप्त सहयोगले नगरपालिकाको दैनिक प्रशासनिक कार्य सञ्चालनमा सहजता पुगेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले प्राप्त गरेको सामग्रीमा डेल आई–५ डेस्कटप कम्प्युटर (१४औँ पुस्ता, ८/५१२ जीबी) एक सेट, क्यानन एलबीपी–६०३० प्रिन्टर एक थान तथा एक थान टेबल रहेका छन्। नगरपालिकाले यी सामग्रीहरू आवश्यक कार्यमा प्रयोग भइरहेको जनाउँदै सहयोगप्रति बहाई समुदायलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा बहाईका राष्ट्रिय आध्यात्मिक सभाका उपाध्यक्ष सोमनाथ राना तथा नेपालका बहाईहरूको सहायक मण्डल सदस्य रामसाय रानाको संयुक्त उपस्थिति रहेको थियो। साथै सामाजिक व्यक्तित्व तथा समाजसेवी यमप्रसाद पौडेललगायत नगरपालिकाका विभिन्न कर्मचारीहरूको सहभागिता पनि रहेको थियो।
बहाई समुदाय विगत लामो समयदेखि नेपालमा शिक्षा, स्वास्थ्य, नैतिक विकास तथा सामाजिक एकताको क्षेत्रमा सक्रिय रहँदै आएको छ। समुदायले बालबालिका तथा युवाका लागि नैतिक शिक्षा, स्वास्थ्य सचेतना अभिवृद्धि, महिला सशक्तीकरण तथा सामाजिक सद्भाव प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। समुदाय सुधार र समाज रूपान्तरणलाई केन्द्रमा राख्दै बहाई समुदायले स्थानीय तहसँग सहकार्य गर्दै निरन्तर योगदान पुर्याउँदै आएको बताइएको छ।
सहायक मण्डल सदस्य रामसाय रानाले बहाई समुदायको मूल उद्देश्य समाजमा सेवा, एकता र शान्तिको प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढ भए मात्र दिगो समुदाय निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, उपाध्यक्ष सोमनाथ रानाले कठिन समयमा स्थानीय सरकारसँग हातेमालो गर्दै सहयोग गर्न पाउनु बहाई समुदायका लागि गौरवको विषय भएको बताउनुभयो।
पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माद्वारा हस्ताक्षरित धन्यवाद पत्रमार्फत बहाई समुदायको सहयोगले नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। नगरपालिकाले भविष्यमा पनि यस्ता सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै समुदाय विकासका कार्यक्रमहरू अघि बढाउने जनाएको छ।
शिक्षा, स्वास्थ्य, नैतिक, आध्यात्मिक तथा असल र समुन्नत समाज निर्माणमा बहाई समुदायको दीर्घकालीन योगदान निरन्तर रहने उपाध्यक्ष सोमनाथ रानाले स्पष्ट पार्नुभएको छ।























Discussion about this post