कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

मन्त्री घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्ने तयारीमा रहेको चर्चासँगै मन्त्री पदबाट राजीनामा नदिएको भन्दै आलोचनामा परिरहेका थिए। यसैबीच उनले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी मन्त्री पदबाट अलग हुने निर्णय गरेका हुन्।

प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा घिसिङले आफू मिति २०८२ भदौ ३० गते नेपाल सरकारको मन्त्रीको रूपमा नियुक्त भएको स्मरण गर्दै, जेनजी आन्दोलनपछि गठन भएको सरकारमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा आफूले सम्हालेका मन्त्रालय तथा मातहतका निकायहरूमा सुशासन कायम गर्न, वर्षौँदेखि काम नगरी अलपत्र परेका विकास परियोजनालाई निरुत्साहित गर्न र देशको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्र सुधारसँगै भौतिक पूर्वाधार विकासमार्फत जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।

त्यसैगरी उनले यस अवधिमा प्राप्त सहयोग, विश्वास र सहकार्यका लागि प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, कर्मचारीहरू तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, भविष्यमा पनि देश र जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी निर्वाह गर्न सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कुलमान घिसिङको राजीनामासँगै सरकारको मन्त्रिपरिषद् पुनः गठन र राजनीतिक समीकरणमा थप परिवर्तन आउने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित