कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका वडा नं. १० झलारीस्थित एनएमबि बैंकको शाखा कार्यालयमा गैरकानुनी रूपमा लगाइएको ताला जिल्ला प्रशासन र प्रहरीको समन्वयमा खोलिएको छ।
बैंकबाट कानून बमोजिम गरिएको लिलाम बिक्रीको विषयलाई लिएर संघर्ष समितिको नाममा मिति २०८२ पाैष २३ गते बैंक शाखामा ताला बन्दी गरिएको थियो। सो घटनाको जानकारी बैंकले तत्काल प्रहरी प्रशासनलाई गराएको थियो भने मिति २०८२/०९/२४ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई समेत लिखित रूपमा जानकारी गराएको थियो।
बैंकिङ व्यवसाय सर्वसाधारण नागरिकहरूको निक्षेप सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील सेवा भएकाले लामो समयसम्म ताला बन्दी हुँदा देशको समग्र आर्थिक क्षेत्रमा समेत असर पर्न सक्ने निष्कर्षसहित प्रशासन सक्रिय बनेको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सहयोग तथा समन्वयमा आज मिति २०८२/०९/२७ गते जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको रोहवरमा गैरकानुनी रूपमा गरिएको तालाबन्दी तोडिएको प्रहरीले जनाएको छ।
तालाबन्दी तोडी शाखा कार्यालय पुनः सुचारु सञ्चालनका लागि एनएमबि बैंकका प्रतिनिधिलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। हाल बैंकको सेवा नियमित रूपमा सञ्चालनमा आएको जनाइएको छ।
























Discussion about this post