काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षको उमेरमा उनले आज दिल्लीस्थित आफ्नै निवासमा अन्तिम सास लिएका हुन्। उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार आज बिहान आफ्नै अपार्टमेन्टमा हृदयघातका कारण उनको निधन भएको हो।
इन्डियन आइडल विजेता तामाङ नेपाली सांगीतिक तथा चलचित्र क्षेत्रमा अत्यन्त लोकप्रिय व्यक्तित्वका रूपमा परिचित थिए। उनले गाएका दर्जनौं नेपाली गीतहरू श्रोतामाझ आज पनि उत्तिकै प्रिय छन्। गायनसँगै अभिनयमा पनि सक्रिय तामाङले नेपाली फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका थिए।
नारायण रायमाझी निर्देशित चलचित्र ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्म अभिनयमा डेब्यू गरेका थिए। त्यसपछि ‘अँगालो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’ भाग १ र २ लगायतका फिल्ममा अभिनय गरे। ‘हिम्मत २’ बाट उनले पहिलोपटक नेपाली फिल्ममा पार्श्वगायनसमेत गरेका थिए। ‘दिल’, ‘अनमोल छन्’ र ‘हिम्मत २’ मा उनका स्वर दर्शकले मन पराएका थिए।
बलिउडतर्फ पनि कदम चालेका तामाङले सलमान खान अभिनीत चलचित्र ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए। उक्त फिल्मको छायांकन सम्पन्न भइसकेको र उनी डबिङको तयारीमा रहेको बताइएको छ।
सन् २००७ मा ‘धन्यवाद’ एल्बममार्फत सांगीतिक यात्रामा आएका तामाङका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ जस्ता गीतहरू अत्यन्त चर्चित छन्। उनले लोकप्रिय टेलिभिजन श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए।
भारतको दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए। उनीहरूको एक छोरी छन्। सांगीतिक करियर अघि उनले केही समय कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा पनि सेवा गरेका थिए।
उनको निधनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा कलाकार, शुभेच्छुक र प्रशंसकहरूबाट श्रद्धाञ्जली तथा समवेदनाको ओइरो लागेको छ। नेपाली संगीत र चलचित्र क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ।























Discussion about this post