बेलडाँडी । नेपाल सरकारको स्पष्ट निर्णय कार्यान्वयन गर्दै बेलडाँडी गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेक अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको सम्झौता नवीकरण नगर्ने जनाएको छ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०६/०५ गतेको बैठकको निर्णय, अर्थ मन्त्रालय सिंहदरबार, काठमाडौँको पत्र तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक कर्मचारी नियुक्त गर्न नपाइने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
यसै निर्णयअनुसार बेलडाँडी गाउँकार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गत स्वीकृत दरबन्दी बाहेक अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूको मिति २०८२ साल माघ १ गतेदेखि करार तथा ज्यालादारी सम्झौता नवीकरण नगरिने निर्णय गरेको छ।
उक्त निर्णय सम्बन्धी सूचना बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण वि.क. द्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक गरिएको छ।
सरकारी खर्च नियन्त्रण, कर्मचारी व्यवस्थापनमा एकरूपता र कानुनी स्पष्टता कायम गर्ने उद्देश्यले लिइएको यो निर्णय देशभरका अन्य धेरै स्थानीय तहहरूले पनि मन्त्रालयको निर्देशनअनुसार कार्यान्वयन गरिरहेका छन्।
सरकारी निर्णयअनुसार अगाडि बढाइएको यस कदमले स्थानीय तहको प्रशासनिक अनुशासन मजबुत बनाउने अपेक्षा गरिएको छ भने यसले प्रभावित कर्मचारीहरूको भविष्य र वैकल्पिक व्यवस्थापनका विषयमा सरोकारवालाहरूको ध्यान पनि आकर्षित गरेको छ।
























Discussion about this post