महाकाली सिँचाइ आयोजना तेस्रो चरणका कमजोरी सच्याउन युवा संगठनको माग

कञ्चनपुर । नेपाल-भारतबीच २०५२ सालमा सम्पन्न महाकाली सन्धि अनुसार टनकपुरदेखि निर्माण थालिएको मूल नहरको काम लामो समयदेखि अलपत्र अवस्थामा रहेको भन्दै कम्युनिष्ट युवा संगठन, नेपाल कम्युनिष्ट युवा संगठन नेपाल जिल्ला समिति कञ्चनपुरले गम्भीर ध्यानाकर्षण गराएको छ।

संगठनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाकाली सिँचाइ आयोजना तेस्रो चरणले दीर्घकालीन योजना र क्षेत्रको वस्तुगत अवस्था सम्यक् अध्ययन नगरी काम सुरु गर्दा नहर आसपासका उपभोक्ताहरू हरेक वर्ष वर्षायाममा त्रासपूर्ण जीवन बिताउन बाध्य भएका छन्। नहरका कारण कैयौँ कृषकका खेतहरू कटान भई ठूलो क्षति भएको विषय कञ्चनपुरवासीका लागि छर्लङ्ग भइसकेको संगठनको भनाइ छ।

चरम ढिलासुस्तीका कारण निर्माणाधीन नहर अहिले नै जिर्ण अवस्थामा पुगेको उल्लेख गर्दै संगठनले यस्ता कमजोरी तत्काल सच्याउन सम्बन्धित निकायसँग माग गरेको छ।

यसै सन्दर्भमा भीमदत्त नगरपालिकाको वडा नं. ९ लगायत विभिन्न स्थानमा निर्माणाधीन शाखा नहर निर्माणका क्रममा जग्गाधनीहरूलाई दिनुपर्ने मुआवजा अझै विवादमै रहेको बेला निर्माण व्यवसायी र आयोजना तेस्रो चरणका कर्मचारीहरूले डरत्रास सिर्जना गर्दै दादागिरी शैलीमा काम अघि बढाइरहेको आरोप लगाइएको छ। यस्तो कदम निन्दनीय र खेदजनक भएको संगठनले जनाएको छ।

संगठनका अध्यक्ष अनमोल ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुआवजा निर्धारण नगरी कुनै पनि निर्माण कार्य अगाडि नबढाउन मुआवजा निर्धारण समितिका संयोजक तथा सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग गरिएको छ।

यदि पुनः दादागिरी शैलीमै काम अगाडि बढाउने प्रयास गरिए चरणबद्ध संघर्षका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी समेत संगठनले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित