कञ्चनपुर । नेपाली काँग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा गोपीप्रसाद उपाध्यायलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
काँग्रेस क्षेत्रीय सभापति समेत रहेका उपाध्यायलाई पार्टी केन्द्रले सोमबार आधिकारिक रूपमा टिकट प्रदान गरेको हो ।
गगन थापा नेतृत्वको नेपाली काँग्रेस निकट महाधिवेशन प्रतिनिधि समेत रहेका उपाध्याय लामो समयदेखि पार्टी संगठन मजबुत बनाउँदै आएका अनुभवी नेता हुन् ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उपाध्याय नेविसंघ कञ्चनपुरका पूर्व सभापति रहँदै दुई कार्यकाल क्षेत्र नम्बर-१ को नेतृत्व गरिसकेका छन् ।
क्षेत्र नम्बर-१ बाट उपाध्यायसहित काँग्रेस नेता भरत विष्टको नाम पनि उम्मेदवारका रूपमा चर्चामा रहेपनि अन्ततः पार्टीले संगठनात्मक क्षमता, राजनीतिक अनुभव र जनविश्वासलाई आधार मानेर उपाध्यायलाई उम्मेदवार बनाएको काँग्रेस नेताहरू बताउँछन् ।
टिकट पाएको पुष्टि गर्दै उपाध्यायले भने, “मेरो हातमै आधिकारिक पत्र परिसकेको छ । अब क्षेत्रमै गएर उम्मेदवारी दर्ता गरी जनतासँग प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिन्छु ।”
झण्डै अढाई दशकदेखि निरन्तर राजनीतिमा सक्रिय उपाध्याय सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । विवादरहित, शालीन र समन्वयकारी नेताका रूपमा परिचित उपाध्याय पार्टीभित्र मात्र होइन, आम मतदातामाझ पनि विश्वासयोग्य नेताका रूपमा चिनिन्छन् ।
आगामी निर्वाचनमा उपाध्यायले आफ्नै पूर्व सहकर्मी हाल रास्वपाबाट उम्मेदवार बनेका जनक सिंह धामी, पूर्व प्रदेश मन्त्री तथा एमाले उम्मेदवार तारालामा तामाङ र पूर्वमन्त्री नेकपा उम्मेदवार बीना मगरसँग प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो पटक संसदीय राजनीतिक यात्रामा होमिन लागेका उपाध्याय युवामाझ लोकप्रिय नेताका रूपमा स्थापित छन् । संगठन, अनुभव र स्वच्छ छविका कारण कञ्चनपुर-१ मा काँग्रेसको उम्मेदवारी थप बलियो बनेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।























Discussion about this post