सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले इतिहासमै पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । सोमबार लालबन्दी नगरपालिका-७ निवासी राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको हो ।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनका आधारमा बाबु विदेशी र आमा नेपाली भएका गुप्तालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए ।
संशोधित ऐन र नियमावली कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आमाको नामबाट पहिलोपटक नागरिकता जारी गरेको उनले बताए । “यसले बुबाको अत्तोपत्तो नभएका तथा विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानका लागि नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ,” प्रजिअ कँडरियाले भने ।
उनका अनुसार संशोधन ऐनअनुसार दुई हप्ताअघि नै जिल्लाका २० वटै स्थानीय तहमा परिपत्र गरिएको थियो । सोही प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको हो । यसबाट जिल्लामा लामो समयदेखि नागरिकताविहीन भएर समस्यामा परेका धेरै सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
नागरिकता नहुँदा शिक्षा र सीप हुँदाहुँदै पनि रोजगारी पाउन नसक्ने, बैंक खाता खोल्न र आफ्नै नाममा सिमकार्ड प्रयोग गर्न नपाउने जस्ता समस्या अब अन्त्य हुने विश्वास प्रशासनको छ ।
नागरिकता पाएपछि खुसी व्यक्त गर्दै राम मनोहर गुप्ताले भने, “आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु । नेपाली आमाबाट नेपालमै जन्मिएको सन्तानले आफूलाई नेपाली साबित गर्नुपरेको संघर्ष अत्यन्त पीडादायी र चुनौतीपूर्ण थियो ।”
आमाको नामबाट नागरिकता जारी हुनु सर्लाहीका लागि मात्र होइन, देशभर नागरिकता नपाएर पीडित सन्तानका लागि आशाको ढोका खुलेको रूपमा लिइएको छ ।























Discussion about this post