सुदूरपश्चिममा चुनाव लक्षित सशस्त्र प्रहरीको कडा सुरक्षा योजना, ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

धनगढी । सुदूरपश्चिम प्रदेशमा हुने निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले व्यापक सुरक्षा योजना तयार पारेको छ । सशस्त्र प्रहरीले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रलाई समेट्दै चरणबद्ध र बहुस्तरीय सुरक्षा व्यवस्था लागू गर्ने भएको हो ।

सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीका अनुसार आगामी २१ गतेदेखि प्रत्येक निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमान्डमा आधार शिविर स्थापना गरिनेछ । साथै, फागुन ६ गतेदेखि सबै क्षेत्रमा छुट्टाछुट्टै मोबाइल टोली परिचालन गरिने छ ।

निर्वाचन विरोधी गतिविधि रोक्न अनुगमन टोली, बाहिनीस्तरीय रिजर्भ टोली तथा प्रत्येक क्याम्पमा डीएसपीको प्रत्यक्ष कमान्ड रहने व्यवस्था गरिएको निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षाका लागि ५ हजार १०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिनेछ ।

सवारी साधनको अभावका कारण प्रधानकार्यालयको निर्देशनमा आवश्यकताअनुसार भाडामा लिएर भए पनि सबै निर्वाचन क्षेत्रमा मोबाइल गस्ती बढाइने उनले बताए । प्रत्येक क्षेत्रमा नेपाली सेनाको सहकार्यमा मतदान अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा अन्य निर्वाचनसम्बन्धी कार्यालयहरूमा सुरक्षा टोली खटाइएको छ ।

प्रत्येक मतदान क्षेत्रमा डीएसपीको कमान्डमा नेपाली सेनाको मुख्य फोर्ससहित बहुस्तरीय सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचनलाई लक्षित गर्दै स्ट्राइक टोली र मोबाइल टोलीहरू सञ्चालनमा ल्याइएको छ ।

विशेषगरी पहाडी तथा हिमाली जिल्लाहरूमा मोबाइल टोलीको संख्या थप गरिएको छ । सशस्त्र प्रहरीका सबै युनिटमा रिजर्भ क्यूआर टोली र क्यूआर टोली परिचालन गरिएको छ, जसलाई डीएसपी र इन्स्पेक्टरको प्रत्यक्ष कमान्डमा राखिएको छ ।

बाहिनीको राज्यस्तरीय अपरेसन बेस हेडक्वार्टरमा मोबाइल तथा रिजर्भ टोलीहरू तयारी अवस्थामा राखिएको छ भने अन्य पहाडी तथा दुर्गम जिल्लाहरूमा निरन्तर अनुगमन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित