कञ्चनपुरमा गुण्डागर्दी विरुद्ध शून्य सहनशीलता : डीएसपी शाहीको कडा चेतावनी

कञ्चनपुर । कञ्चनपुर प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले गुण्डागर्दी, दादागिरी तथा अन्य अवाञ्छित गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने उद्घोष गरेका छन्।

हालै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवक्ताको जिम्मेवारी सम्हालेका डीएसपी शाहीले शुक्रबार माघ महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै जिल्लाभर आपराधिक गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताएका हुन्।

“जिल्लाभरका ग्याङ तथा गुण्डागर्दी गर्ने गिरोहको प्रोफाइल तयार गरी कारबाही अघि बढाउँछौं,” उनले भने, “सभ्य समाज निर्माणका लागि जबरजस्तीकरणदेखि गुण्डागर्दीका गतिविधि नियन्त्रणमा लिन्छौं।”

उनका अनुसार सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने तथा सर्वसाधारणलाई दुःख दिने कार्यमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको छ। महाकाली पुल क्षेत्रमा सार्वजनिक आवागमन प्रभावित हुने गरी जन्मदिन मनाउन खुकुरी बोकेर हिँडेका युवादेखि महेन्द्रनगर बसपार्क क्षेत्रमा महिला यात्रुमाथि जबरजस्ती गर्ने व्यक्तिसम्मलाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरिएको जानकारी उनले दिए।

डीएसपी शाहीले कुनै पनि व्यक्ति, समूह वा ग्याङलाई अवाञ्छित गतिविधिमा संलग्न नहुन सचेत गराउँदै कानून उल्लंघन गर्ने जो-कोहीलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारे।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार माघ महिनामा मात्रै ८७ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी लागुऔषधका ३० र बैंकिङ कसुरका ८ मुद्दा रहेका छन्। एक महिनामा १ महिला सहित ४९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ५५.१७९ ग्राम खैरो हेरोइन, ५० पिस एम्पुल, २० थान क्याप्सुल तथा २९ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, अनलाइन ठगीका २३ उजुरीका आधारमा २२ हजार रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ भने कुल १९ लाख ६ हजार २८५ रुपैयाँ ठगी भएको विवरण सार्वजनिक गरिएको छ।

प्रहरीले ३६ लाख ३५ हजार ३४३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार चलान गरेको जनाएको छ। साथै जिल्लाभर नागरिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार प्रहरी उपरीक्षक (एसपी) खडक खत्रीको कमान सम्हालेसँगै लागुऔषध, चोरी-तस्करी, भन्सार छली तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा कडाइ गरिएको छ। मातहतका प्रहरी इकाइहरूलाई स्पष्ट निर्देशन दिएपछि जिल्लाभर अपराध नियन्त्रण अभियान सक्रिय रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित