काठमाडौं । धादिङ जिल्लामा मध्यराति भएको भीषण सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस राति करिब १:३० बजे बेनिघाट रोराङ्ग गाउँपालिका–५ स्थित भैंसिगौडामा पृथ्वी राजमार्ग बाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको समयमा बसमा करिब ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल को विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो। साथै नेपाल प्रहरी र नेपाली सेना को टोलीले पनि संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरिरहेका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ। घटनास्थलमा १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको जानकारी केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले दिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेका अनुसार यात्रुहरूको खोज तथा उद्धार कार्य जारी छ। डुंगाको सहायताले नदी किनारबाट यात्रुहरूलाई बाहिर निकालेर बगरमा ल्याउने र त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पठाउने काम भइरहेको छ।
रातिको समय र नदी किनारको भौगोलिक कठिनाइका कारण उद्धारमा चुनौती थपिएको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।



















Discussion about this post