काठमाडौँ । सभामुख डीपी अर्याल सवार कार्केडलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। बुधबार बिहान थापाथली पुलबाट माइतीघरतर्फ जाँदै गर्दा सभामुख सवार गाडीले लेन क्रस गरेपछि उक्त कार्केडलाई ‘लेन मिचेको कसुर’मा चिट काटिएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार, भीआईपी सवारी भएकै कारण सडकमै रोक्न सम्भव नभएपछि कार्केडलाई पछ्याउँदै सिंहदरबार पुगेर जरिवाना गरिएको थियो। उनले भने, “भीआईपीको गाडीलाई बीच सडकमा रोक्न मिलेन, त्यसैले गन्तव्यमा पुगेपछि कानुनी प्रक्रिया पूरा गरिएको हो।”
सभामुखको कार्केडमा अगाडि प्रहरीको गाडी र पछाडि सैनिक अधिकारीहरू सवार गाडी रहने प्रचलन छ। यद्यपि, यस घटनाले पद र शक्तिभन्दा माथि कानुन रहेको सन्देश दिएको छ।
सरकारले पछिल्लो समय विधिको शासनलाई कडाइका साथ कार्यान्वयन गर्ने संकेत गरिरहेका बेला यस्तो कारबाहीलाई सकारात्मक रूपमा हेरिएको छ। सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिसम्म सबैलाई समान कानुनी दायरामा ल्याउने प्रयासले सुशासनतर्फको प्रतिबद्धता झल्काएको विश्लेषण गरिएको छ।



















Discussion about this post