कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर जिल्ला खेलकुद समितिको अध्यक्षमा खेलाडी पृष्ठभूमिका ज्ञानेन्द्र बहादुर सिहलाई नियुक्त गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले २०८२ साल वैशाख २ गते सिहलाई चार वर्षका लागि उक्त जिम्मेवारी प्रदान गरेको हो।
प्रदेश खेलकुद नियमावली २०७७ को नियम ५(क) अनुसार नियुक्ति दिइएको हो। परिषद्का सदस्य सचिव लोक बहादुर खडकाले हस्ताक्षर गरेको नियुक्तिपत्रमा शुक्लाफाँटा नगरपालिका-७ कालापानीका स्थानीय सिहलाई परिषद्को अधिनमा रही जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ।
झण्डै डेढ दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय सिह तेक्वान्दो खेलका अनुभवी खेलाडी तथा अगुवा हुन्। यसअघि जिल्ला खेलकुद समितिको उपाध्यक्षका रूपमा कार्य गरेका उनी दुई पटक तेक्वान्दो संघको अध्यक्षसमेत भइसकेका छन्। साथै, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश खेलकुद विभागका कमाण्डरको जिम्मेवारी पनि उनले सम्हाल्दै आएका छन्।
नव नियुक्त अध्यक्ष सिहले आफूलाई दिइएको जिम्मेवारी निर्भीकताका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। खेलाडी पृष्ठभूमिका नेतृत्व आएको भन्दै कञ्चनपुरको खेलकुद क्षेत्र उत्साहित बनेको छ।
तेक्वान्दो खेलाडी हेम बहादुर बस्नेतले सिहको नेतृत्वले खेलकुद विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै, स्थानीय अगुवा विकास श्रेष्ठले अब समग्र खेलकुदको विकास गर्दै कञ्चनपुरलाई उत्कृष्ट जिल्ला बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
केन्द्र सरकारले गर्दै आएको जिल्ला खेलकुद समितिको नियुक्ति पछिल्ला वर्षहरूमा प्रदेश सरकारले गर्दै आएको छ। यसै सन्दर्भमा सिहको नियुक्तिलाई प्रदेशस्तरबाट खेलकुद विकासलाई थप मजबुत बनाउने कदमका रूपमा हेरिएको छ।






















Discussion about this post