कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा किशनदत्त भट्ट नियुक्त भएका छन्। सरकारले खुला प्रतिस्पर्धामार्फत भट्टलाई विश्वविद्यालयको नेतृत्व सुम्पिएको हो।
शुक्रबार (असार १९, २०८३) कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले भट्टलाई उपकुलपति (भिसी) पदमा नियुक्त गरेका हुन्। सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जनाइएको छ।
रास्वपा नेतृत्वको सरकारले यसअघि तत्कालीन कांग्रेस-एमाले नेतृत्वको सरकारका पालामा नियुक्त भएका विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खारेज गर्दै खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति चयन गरेको हो। उपकुलपति पदका लागि १८ जना प्राध्यापकले आवेदन दिएका थिए।
सुदूरपश्चिमकै स्थानीय तथा विश्वविद्यालयको इन्जिनियरिङ संकायका पूर्व डिन रहेका भट्ट शैक्षिक तथा प्रशासनिक नेतृत्व क्षमता भएका प्राध्यापकका रूपमा परिचित छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा भट्टले आफ्नै मातृभूमिमा रहेको विश्वविद्यालयको नेतृत्व सम्हाल्न लागेका हुन्। उनी सुदूरपश्चिम विश्वविद्यालयका आठौँ उपकुलपति बन्नेछन्।
भट्टको नियुक्तिसँगै विश्वविद्यालयमा शैक्षिक गुणस्तर सुधार, प्रशासनिक दक्षता, पारदर्शिता र संस्थागत विकासले गति लिने अपेक्षा गरिएको छ। लामो समयदेखि विभिन्न कारणले विवाद, तालाबन्दी र आन्दोलनको सामना गर्दै आएको विश्वविद्यालयलाई अब स्थायित्व र सुधारको दिशामा अघि बढाउने चुनौती उनको काँधमा आएको छ।
उपकुलपति नियुक्तिपछि रजिस्ट्रार लगायतका अन्य पदाधिकारी नियुक्तिको प्रक्रिया पनि अगाडि बढ्ने तयारी रहेको बताइएको छ। डेढ दशकअघि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयलाई राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने अवसर र चुनौती दुवै भट्टसामु रहेको विश्लेषण गरिएको छ।
भट्टको नेतृत्वमा विश्वविद्यालयमा विगतका राजनीतिक तथा प्रशासनिक विवाद अन्त्य भई शैक्षिक वातावरण सुदृढ हुने विश्वास सरोकारवालाले व्यक्त गरेका छन्।





















Discussion about this post