कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-९ स्थित झरनाखोलामा बगेर बेपत्ता भएकी १५ वर्षीया गरिमा तिरुवाको शव शुक्रबार बिहान फेला परेको छ।
प्रहरीका अनुसार बिहीबार साँझ रोपाइँको काम सकेपछि दिदीबहिनी तथा साथीहरूसँग खोलामा नुहाउन गएकी गरिमा तीव्र बहावमा बगेर बेपत्ता भएकी थिइन्। उनको शव शुक्रबार बिहान करिब १० बजे घटनास्थलबाट करिब ५०० मिटर तल बेलौरी-९ रतनपुरस्थित नाला किनारमा फेला परेको हो।
स्थानीयका अनुसार गरिमा स्थानीय प्रेम महरको खेतमा रोपाइँ सकेपछि ६-७ जनाको समूहसँग खोलामा पुगेकी थिइन्। नुहाउने क्रममा उनीसहित तीन जना खोलाको बीच भागतर्फ पौडी खेल्न गएका थिए। तर राम्रोसँग पौडी खेल्न नजान्दा गरिमा खोलाको तीव्र बहावमा बगेकी थिइन्। उनीसँग रहेका अन्य दुई जना भने सकुशल बाहिर निस्कन सफल भएका थिए।
गरिमा बग्न थालेपछि साथीहरूले तत्काल उद्धारको प्रयास गरेका थिए। तर प्रयास सफल नभएपछि परिवार, स्थानीयवासी तथा प्रहरीलाई खबर गरिएको थियो।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले बिहीबार रातिसम्म खोजी अभियान सञ्चालन गरेको थियो। राति रोकिएको खोजी कार्य शुक्रबार बिहान पुनः सुरु गरिएको थियो। प्रारम्भिक खोजी बेलडाँडी गाउँपालिका-३ स्थित कमरी पुलसम्मको क्षेत्रमा केन्द्रित गरिएको भए पनि सफलता नमिलेपछि घटनास्थल आसपास पुनः खोजी गर्दा केही दिनअघि खनिएको नालाको छेउमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
खोजी अभियानमा इलाका प्रहरी कार्यालय बेलडाँडी, सशस्त्र प्रहरी बल भुडा र पचुई बीओपीका विपद् उद्धार तालिम प्राप्त सुरक्षाकर्मीसहित स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।
घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना भएको छ।





















Discussion about this post