बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा समयअगावै योजना सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित भएका छन् । बेलडाँडी गाउँपालिका-५ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहका अवसरमा दोधारा चाँदनी नगरपालिकाका निर्माण व्यवसायी तथा नागार्जुन विल्डर्सका सञ्चालक चन्द्र सिंह बिष्ट लाई सम्मान-पत्रसहित सम्मान गरिएको हो ।
वडा कार्यालयका अनुसार बिष्टले विगत चार वर्षदेखि बेलडाँडी गाउँपालिका क्षेत्रमा विभिन्न निर्माण कार्य गर्दै आएका छन्। आर्थिक वर्ष २०८२/०८३ अन्तर्गतका दुई वटा योजनासमेत तोकिएको समयअवधिभन्दा अगावै सम्पन्न गरी हस्तान्तरण गरेपछि उनको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको जनाएको छ ।
संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश विधायन प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्ट को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना तथा वडा नं. ५ का अध्यक्ष इन्द्रबहादुर खड्कालगायत जनप्रतिनिधि, स्थानीयवासी र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्मान ग्रहणपछि निर्माण व्यवसायी बिष्टले प्राप्त सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए । उनले स्टिमेटअनुसारको काम समयमै सम्पन्न गर्नु निर्माण व्यवसायीको दायित्व भएको समेत उल्लेख गरे ।
स्थानीयवासीले पनि बिष्टको कार्यशैलीको खुलेर प्रशंसा गरेका छन् । बेलडाँडीमै कतिपय योजनाहरू पटक-पटक म्याद थप्दा पनि अधुरै रहने अवस्था रहेको बेला नागार्जुन विल्डर्सले समयमै गुणस्तरीय निर्माण सम्पन्न गरेको भन्दै स्थानीयले सकारात्मक उदाहरणका रूपमा लिएका छन् ।
समयपालन, गुणस्तरीय निर्माण र जिम्मेवार कार्यशैलीका कारण निर्माण व्यवसायी बिष्ट अहिले बेलडाँडीमा उदाहरणीय ठेकेदारका रूपमा परिचित बन्दै गएका छन् ।



















Discussion about this post