माध्यमिक शिक्षा परीक्षा एसइई २०८२ को नतिजामा सुदूरपश्चिम प्रदेशको समग्र उत्तीर्ण दरमा उल्लेखनीय सुधार देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश जिल्लामा २०८१ को तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत बढेको हो।
शिक्षा विकास निर्देशनालय डोटीका अनुसार कैलालीमा यस वर्ष ५५.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष यो दर ४३.०१ प्रतिशत रहेको थियो। जिल्लाबाट १४ हजार १४६ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७ हजार ८२२ जना उत्तीर्ण भएका छन् भने ६ हजार ३२४ जना नन–ग्रेड भएका छन्।
कञ्चनपुरमा ८ हजार २४४ विद्यार्थी सहभागी भएकामा ५१.३२ प्रतिशत उत्तीर्ण भएका छन्। अघिल्लो वर्ष यहाँ ४५.२४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। जिल्लाबाट ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्।
डडेल्धुरामा उत्तीर्ण दर २७.५२ प्रतिशतबाट बढेर ३५.५२ प्रतिशत पुगेको छ। बैतडीमा भने यस वर्ष ५१।४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ५२.३० प्रतिशतभन्दा केही कम हो।
दार्चुलामा उत्तीर्ण दर ३५.०८ प्रतिशतबाट घटेर ३०.८४ प्रतिशतमा सीमित भएको छ। डोटीमा ४१.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने अछाममा यो दर ५५.७१ प्रतिशत पुगेको छ। बाजुरामा सबैभन्दा बढी ६१.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शिक्षा विकास निर्देशनालय डोटीका अनुसार बझाङको जिल्लागत तथ्याङ्क भने अझै उपलब्ध भएको छैन।
प्रदेशभरबाट एसइई २०८२ मा ४२ हजार २९९ विद्यार्थी सहभागी भएकामध्ये २१ हजार ६६४ जना उत्तीर्ण भएका छन्। समग्र उत्तीर्ण दर ५१.२१ प्रतिशत पुगेको छ, जुन गत वर्षको ४२.३० प्रतिशतभन्दा उल्लेखनीय सुधार हो।



















Discussion about this post