नेपाल सरकारकोतर्फबाट भारत सरकारलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं-दार्चुलाका ९ वर्षिय बालक पवन महराको मृत्यु प्रकरणलाई लिएर नेपालले भारतीय सरकारका नाममा कूटनीति नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले नेपाल स्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो ।

महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको हो । काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ ।

दार्चुला घटनाबारे सरकार नबोलेको भन्दै चौतर्फी विरोध भएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाउँदै कारबाही र पीडितको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका थिए । भारतीय सुरक्षाकर्मीले गत वर्ष तुइन फुस्काउँदा दार्चुलाकै जयसिंह धामी बेपत्ता भएको घटनामा प्रधानमन्त्री शेरबहादुर देउवा मौन बसेको भन्दै ओलीले अलोचना गरेका थिए ।

यसपछि गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई शनिबार नै पत्र पठाइएको थियो । तर, घटनाको विस्तृत विवरण नआएका कारण आइतबार कूटनीतिक नोट पठाइएको हो । नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई समेत अगाडि नै जानकारी दिन भनिएको छ ।

महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफीसमेत मागेको थियो भने भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको बताइएको छ ।

धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी थिइन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।

बालकको मृत्युपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पिथौरागढस्थित जिल्लाधिकारी आशिष चौहानलाई टेलिफोन गरेर आपत्ति जनाएका थिए । सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर स्थानीय पनि आन्दोलित भएका थिए । शनिबार दिनभर जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको पिथौरागढस्थित जिल्लाधिकारीको कार्यालयअन्तर्गत धारचुलास्थित तहसिल कार्यालयका प्रतिनिधिको रोहबरमा मृतकका आफन्त र निर्माण कम्पनीबीच वार्ता भएको थियो ।

वार्ताका क्रममा निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै माफी मागेको हो । भारतीय कम्पनीका तर्फबाट निशान्त शाह तथा नेपालबाट व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान अध्यक्ष दिलीपसिंह बुढाथोकी, व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकी र पवनका बुबा हिक्मतसिंहले सहमतिपत्रमा हस्ताक्षर पनि गरेका छन् । व्यास–२ का वडाध्यक्ष बुढाथोकीका अनुसार भारतीय सडक निर्माण कम्पनीका प्रतिनिधिले पीडित परिवारका बालबालिकालाई १२ कक्षासम्म निःशुल्क पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने बताएपनि निजी कम्पनी भएकाले रोजगारीभन्दा पनि उचित राहतको माग परिवारले गरेपछि १० लाख भारु उपलब्ध गराउने सहमति भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार दार्चुला घटना अप्रिय र दुःखद् भन्दै छिट्टै भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराइएको र यस्ता घटना दोहोरिन नदिन भनिएको छ । गृहबाट पत्र गएपछि सार्वजनिक बिदा परेका कारण कूटनीतिक नोट पठाउन मुस्किल हुने भन्दै आएको परराष्ट्रले आज भारतीय दूतावासमार्फत नोट पठाएको हो । अब भारतले यसबारे प्रतिक्रिया जनाएपछि थप कदम चाल्ने परराष्ट्रका एक अधिकारीले नेपालबहसलाई जानकार दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित